सधैँ राजनीतिक बैठक र कार्यक्रममा व्यस्त हुने दुई नेता शुक्रबार साँझ नेपाली चलचित्र ‘शत्रु गते’ को दर्शक बन्न भ्याउनु भएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बागबजारस्थित सिटी म्याक्समा पुगेर दुई घण्टा ‘शत्रु गते’ हेर्नुभएको हो ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले चलचित्र सामाजिक परिवेशलाई आधार बनाएको हुनाले राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले चलचित्रले दाइजो प्रथा, घरछिमेकी सँगको सम्बन्धबारे जान दिएको बताउनुभयो । आफू राम्रो सामाजिक घटना प्रधानका चलचित्र हेर्न गरेको बताउँदै उहाँले ‘शत्रु गते’ पनि राम्रो सुनेर हेर्न आएको बताउनुभयो ।

केन्द्रका नेता श्रेष्ठले चलचित्रबारे राम्रो सुनेकाले हेर्न आएको बताउनुभयो । ‘‘चलचित्रका बारेमा बाहिर पनि राम्रो सुनेको थिएँ,’’ उहाँले भन्नुभयो, ‘‘माधवजीले पनि हेर्न जाऔँ भन्नुभयो । चलचित्र हेर्दा सामजिक विषयवस्तुमा राम्रो देखाइएको पाएँ ।’’ दुई नेतासँग प्रदेश सांसद पशुपति चौलागार्इं, रचना खड्का, मञ्जु यादव र युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्तसमेत पुग्नुभएको थियो ।