काठमाडौं/ वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित ६७ वर्षीया श्रेष्ठको सोमबारराति गोदावरीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो ।

उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । उनको अन्त्येष्टि कार्यक्रममा चलचिकर्मी, कलाकारसहित विभिन्न पेसाका मानिसहरु सहभागी भएका थिए ।

यशोदाको अन्त्येष्टि कार्यक्रममा पशुपति आर्यघाट पुगेकाहरु प्रायःसबैको आँखा रसाएको थियो । तर, पत्नी वियोगमा परेका कलाकार मदनकृष्णले भने मन थाम्न सकेनन् । पत्नीको निधन भएदेखि रोइरहेका मदनकृष्ण आर्यघाटमै डाको छोडेर रोएपछि माहोल झनै भावविह्वल बन्न पुगेको थियो ।

२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी श्रेष्ठको मदनकृष्णसँग ३५ वर्षअघि विवाह भएको थियो । श्रेष्ठ दम्पतीका एक छोरा, एक छोरी छन् ।