काठमाडौं/अभिनेत्री करिश्मा मानन्धरले शुक्रबार यो वर्षको कक्षा ९ को अन्तिम परीक्षा सम्पन्न गरेकी छन् । उनी स्कुल पढ्न थालेको तीन वर्ष भयो । ४२ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भएकी यी अभिनेत्रीको तीन वर्षयता धेरै जसो समय स्कुल र गृहकार्यमा बित्दै आएको छ ।

‘बिहान पाँच बजे नै उठेर ७ बजेसम्म होम वर्क सक्छु । घर गोदावरी र स्कुल मैतीदेवी भएकाले ८ बजे नै घरबाट पढ्नका लागि स्कुल हिँड्छु,’ करिश्माले भनिन् । बेलुका पुनः ६ बजे घर पुगेर राति ११ बजेसम्म अध्ययनमा व्यस्त रहँदै आएको उनले बताएकी छन् ।

आइतबार चलचित्र ‘हिरोज’को प्रेस मिटमा भेटिएकी अभिनेत्री करिश्माले राजधानीसँग भनिन्, ‘९ कक्षाको यो वर्षको अन्तिम परीक्षा सकिएकाले अब तीन साताको बिदामा चलचित्र हिरोजको प्रचारसँगै सिनेमा र आफ्नो पार्टीका साथीलाई समय दिन्छु । त्यसपछि वैशाखबाट फेरि दैनिक स्कुल जाने, होमवर्क गर्ने र पढ्ने काममै व्यस्त हुनेछु ।’

७ कक्षा पढ्दा पढ्दै १४ वर्षको उमेरमा उनलाई २०४५ सालमा चलचित्र ‘सन्तान’मा नायिका बन्ने प्रस्ताव आयो । सो चलचित्रमा उनी अनुबन्धित भइन् । एकपछि अर्को गर्दै चलचित्रमा व्यस्त भएपछि करिश्माले पढाइरोक्नु पर्यो । यसरी लगातार २८ वर्षसम्म चलचित्रको अभिनय र निर्माणमा व्यस्त भएकी यी अभिनेत्रीलाई तीन वर्ष अघिबाट बल्ल पुनः स्कुल जाने फुर्सद मिलेको हो ।

४२ वर्षको उमेरमा ७ कक्षामा भर्ना हुनुको कारण पनि रमाइलो रहेछ । नयाँ शक्ति पार्टीमा आबद्ध भएपछि एकजना नेताले उनको पढाइसम्बन्धी गरेको व्यंग्यले पढ्न प्रेरणा मिलेको खुलासा गर्दै करिश्माले भनिन्, ‘अध्ययन कम भएकै कारण हामीलाई केँहीनकामको कलाकार भनेर ती नेताले होच्याएपछि म केही बेकामको कलाकार भएकाले एक दिन पीएचडी सकेर कामको बन्छु भन्ने जवाफ उहाँलाई दिएँ । त्यो इखले नै म स्कुल भर्ना भएकी हुँ ।’

त्यसपछि सपनामा समेत स्कर्ट लगाएर स्कुल गएको देखेपछि नृत्य निर्देशक गोविन्द राईको सहयोगमा उनी स्कुल भर्ना भएकी रहिछन् ।

पहिलो दिन स्कुल जाँदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘पहिलो दिन स्कुल जाँदा जीवनकै सबैभन्दा बढी नर्भस भएकी थिएँ । विस्तारै बानी पर्दै गएँ ।’ आजकाल त स्कुल नजाँदाको दिन खल्लो लाग्ने गरेको पनि यी अभिनेत्रीले बताइन् ।

स्कुलमा कक्षा सकिएपछि आफूसँग अटोग्राफ माग्ने विद्यार्थीहरूको लाइन देखेर सुरुसुरुमा यी अभिनेत्रीलाई साह्रै गाह्रो लाग्यो । कक्षाकी एक मात्र आन्टी तथा दिदी करिश्मालाई आफ्ना छोराछोरी उमेरका सबै विद्यार्थीले होमवर्कदेखि क्लासवर्कसम्म सघाउने गर्दा रहेछन् । यसमा आफूलाई खुसी लाग्ने गरेको यी अभिनेत्रीको भनाइ छ ।

आगामी १० वैशाखबाट कक्षामा टेक्ने यी अभिनेत्रीले पढाइलाई निरन्तरता दिने अठोट लिएकी छिन् । ‘म अब स्कुल सकेपछि कलेज पनि निरन्तर पढ्नेछु र पीएचडी गरेर डा. करिश्मा मानन्धर लेखेर छाड्नेछु । त्यही अठोटसाथ म तीन वर्षअघि ७ कक्षामा स्कुल भर्ना भएकी थिएँ,’ उनले भनिन् ।

करिश्मालाई सबैभन्दा गाह्रो म्याथ (हिसाब) विषय लाग्छ । अरू विषयबारे उनले भनिन्, ‘अंग्रेजी त मलाई सजिलो लाग्छ । ओपिटी म्याथसँगै अलजेब्रा र नेपाली व्याकरण पनि मलाई गाह्रै लाग्छ ।’

आफ्ना श्रीमान् विनोद मानन्धरदेखि अमेरिकामा ग्राजुएसन गरिहेकी छोरी कविता मानन्धरसम्मले अभिनेत्री करिश्मालाई अध्ययनका लागि प्रेरित गरेका छन् ।

‘छोरीले त स्कुल टाइमदेखि होमवर्कसम्मको मेरो तस्बिरलाई कार्टुन बनाएर पठाउँदै रमाइलो गर्छिन् र पढ्न पनि त्यत्तिकै प्रेरणा दिन्छिन् । म स्कुल पढेकाेमा उनलाई खुसी लागेको छ,’ करिश्माले भनिन् ।

करिश्माले थपिन्, ‘हामी नेपाली महिलाहरूले विभिन्न कारणले स्कुलसँगै पढाइ छाड्नुपरेकाले नेपालमा महिला साक्षरता कम भएको हो त्यसैले उमेरको वास्ता नगरी महिला साक्षरता बढाउन पनि हामीले पढाइलाई निरन्रता दिनुपर्छ भनेर पनि मैले यो उमेरमा आएर स्कुल पढेकी हुँ ।’