काठमाडौँ/ स्थानीय गौशालामा बुधबार राति पक्राउ परेका गणेश लामालाई प्रहरीले १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

प्रवक्ता थापाले लामामाथि हातहतियार तथा खरखजना ऐनमा मुद्दा चलाइने जानकारी दिए । हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई गत माघमा अदालतले सफाइ दिएको थियो ।

लामा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकबाट प्रदेशसभाका उम्मेदवारसमेत थिए ।