मोरङ/ उत्तरपूर्वी मोरङमा चोरी शिकारी गर्नेहरुले शिकारी कुकुर प्रयोग गरेर वन्यजन्तु मार्ने गरेको पाइएको छ ।

पथरीशनिश्चरे २ मा शिकारी कुकुर प्रयोग गरी मारिएका २ वटा हरिण फेला परेपछि यो तथ्य वाहिर आएको हो । शनिबार दिउँसो १ बजेको समयमा हरियाली सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापनको दुई नम्बर कुपमा कुकुरको आक्रमणमा परी दुई वटा चित्तल मरेको अवस्थामा फेला परे ।

यो घटनाले चोरी शिकारी नियन्त्रणमा थप चनाखो हुनुपर्ने अवस्था देखा परेको सेक्टर वन कार्यालय उर्लाबारी मंगलवारेका प्रमुख तारणिप्रसाद चौधरीले वताए । ‘भरुवा वन्दुक पड्काएर शिकार गर्दा टाढासम्म आवाज सुनिने हुनाले यो विधि अपनाएको वुझियो ।’– उनले भने । मारिनेमा एक गभर्वती र अर्काे माउ चित्तल रहेका छन् । एउटा चित्तलको वच्चा भनें भाग्दै आएर स्थानीयको घरमा पसेर वचेको थियो ।

कुकुरहरुले सामूहिक रुपमा वन्यजन्तु खेदाइरहेको कसैले सुनाएपछि सो सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगरले हेर्दै जाँदा कुकुरको टोकाइबाट चित्तल छट्पटाइ रहेको अवस्थामा फेला परेको र केही क्षणपछि चित्तल मरेको थियो । आक्रमण गर्ने ३ वटा कुकुर पुन अर्काे चित्तल खेलाउन लागेको देखिएको मगरले सुनाए ।

त्यसपछि सेक्टर वन कार्यालय मंगलबारेमा खवर गर्दा त्यहाँका सुवेदार टंक विश्वकर्मा नेतृत्वको टोली आएर एउटा कुकुरलाई भनें जंगलमै नियन्त्रणमा लिएर मारेको थियो । अन्य दुई वटा कुकुरलाई नियन्त्रणमा लिन सकेन । कुनै पनि जनावर खान पल्किएपछि त्यस्ता कुकुरहरुले कँही न कँही जनावर मार्ने गर्छन् । तालिम दिएर जंगलमा शिकार गर्न पठाएका त्यस्ता कुकुरहरुले घर गाउँका पाल्तु जनावर समेत मार्ने गर्दछन् ।

२०७२ पुस १३ र १६ गते हरियाली सामुदायिक वन क्षेत्रमा कुकरको टोकाइबाट दुई चित्तल मारिएका थिए । २०७३ चैत्र २५ गते सिमानामै पर्ने शान्ति सामुदायिक वनमा कुकुरकै टोकाइबाट चित्तल मरेको थियो । उर्लाबारीको बासेँचोरी सीमसार, सुनझोडा सामुदायिक वन क्षेत्रबाट शिकारी कुकुर प्रयोग गरी वन्यजन्तु खेदाउँदै गर्दा सुरक्षाका लागि पथरीतर्फका वनमा आइपुग्ने गरेको तथ्य फेला परेको सेक्टर वन कार्यालयको बुझाई छ ।

शिकारी कुकुरको प्रयोग गरेर वन्यजन्तु मार्न थालेको तथ्य खुलेपछि सेक्टर वन कार्यालय मंगलबारेले उर्लाबारी–२ को सुनझोडा क्षेत्रमा कुकुर नियन्त्रण गर्न आग्रह गर्दै माइकिङ गरिने वताएको छ । वन क्षेत्रमा कुकुरहरु भेटेको पाइएमा नियन्त्रणमा लिई त्यस्ता शिकारी कुकुरलाई मार्ने सूचना प्रवाह गरिने कार्यालयले उल्लेख गरेको छ ।