[caption id="attachment_70849" align="aligncenter" width="721"] फायलफाेटाे[/caption]

रुकुम/ पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ।

जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ की ६ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो। पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए। उनकी आमा अनिता कामी पाँच वर्षअघि लागुऔषध बिक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको आरोपमा कारागार परेकी थिइन्।

भारतीय अदालतको फैसलानुसार कामीले कारागार भुक्तान गर्न अब दुई वर्ष बाँकी छ। अनिता कारागार परेपछि परिवारको सम्पर्कबाट विच्छेद भएकी थिइन्। करिष्माका बुबाको एक वर्षपहिले मृत्यु भएको थियो। कारागारमा रहेकी कामीले आफ्नो श्रीमान्‌को मृत्यु भएको समेत थाहा नपाएको बालिकालाई उद्धार गर्न पुगेका बाल अधिकार अधिकृत ओलीले बताए।

बालिकालाई कारागारमा असहज भएको र भारत सरकारले ६ वर्षभन्दा बढी उमेरका बालबालिकालाई कारागारमा राख्न नमिल्ने जनाएपछि भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था डिहातमार्फत बालकल्याण समितिसँग इमेलमार्फत पत्राचार गरिएको थियो।

अहिले बालिकालाई प्रारम्भिक बालविकास केन्द्र काठमाडौँमा पठनपाठनका लागि राखिएको ओलीको भनाइ छ।रासस