बिपी राजमार्गमा गुड्ने माइक्रोबसका चालकले गाँजा खाएर गाडी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । खाना खाने होटेलवालामार्फत चालकले गाँजा खाने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्माले होटेलवालासँग सम्पर्क गरेर जहाँ गाँजा पाइन्छ त्यहीँ यात्रुलाई खाना खुवाउने गरेको पाइएको बताए । जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सिन्धुलीको खुलामञ्चमा आयोजना गरेको सवारीचालक र सहचालक सचेतना कार्यक्रममा उनले नशालु पदार्थ सेवनले दुर्घटना बढेको बताए ।

टाइमकार्ड लागू गरे पनि चालकहरूले बीचमा गाडी अत्यधिक गतिमा कुदाउने र बीचबाटोमा लगेर रोकिराख्ने गरेको पाइएको शर्माले बताए । प्रहरी चेकप्वाइन्टमा भने तोकिएकै समयमा पु¥याउने गरेको उनको भनाइ छ ।

बिपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म दिनमा सरदर तीनजनाको मृत्यु हुने गरेको प्रनाउ शर्माले बताए । उलने बिपी राजमार्गको सिन्धुलीभित्र पर्ने ९५ किलो मिटर सडकमा सानाठूला गरेर दैनिक सातदेखि १५ वटासम्म दुर्घटना हुने गरेको बताए ।

प्रहरीका अनुसार साउनयता बिपी राजमार्गको सिन्धुली खण्डमा ३१ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । ३५ वटा ठूला सवारी दुर्घटना भएका छन् ।

कार्यक्रममा बिपी राजमार्ग यातायात व्यवसायी संघका अध्यक्ष कान्छामान बलले चालक र सहचालकले गाडी चलाउँदा सजग हुनु जरुरी भएको बताए । ‘तपाईंहरूको हातमा सयौँ यात्रुको भविष्य जोडिएको हुन्छ, त्यसैले चालक दाजुभाइ जहिले पनि जिम्मेवार बन्न सिक्नुपर्छ,’ अध्यक्ष बलले भने ।

नयाँपत्रिकाबाट