गौर/ शीतलहरका कारण चिसो बढेपछि सुत्केरी र शिशु जोखिममा परेका छन् । मुसहर बस्तीमा न्यानो कपडा नहुँदा सुत्केरी र नवजात शिशु परालको भरमा बाँचिरहेका छन् ।देवाहीगोनाही-२ स्थित लक्ष्मिनिया टोलका सुत्केरी पराल ओछ्याएर बस्न बाध्य छन् । पाँच दिनकी सुत्केरी बुधनीदेवी माझी मुसहर भुइँमा पराल ओछ्याएर शिशुसँग बसिरहेकी भेटिइन्। यो टोलमा ८० भन्दा बढी मुसहर परिवारको बसोबास छ । १२ भन्दा बढी महिला सुत्केरी भएको एक महिना पनि नाघेको छैन। उनीहरू सबैको आर्थिक अवस्था नाजुक छ।
[caption id="attachment_68366" align="aligncenter" width="750"]
पौष्टिक खाना तथा लत्ताकपडा नहुँदा उनीहरू बिरामी पर्न थालेका छन् । स्थानीयवासी ओढ्ने(ओछ्याउने नहुँदा पराल ओछ्याएर र सुकुल ओढेर सुत्न बाध्य छन् । चिसोका कारण नवजात शिशु बिरामी परे पनि खर्च अभावमा उनीहरूको उपचार हुन सकेको छैन। ‘घरमा ओढ्ने-ओछ्याउने छैन’, बुधनीदेवीले भनिन्, ‘पराल ओछ्याएर सुत्ने गरेकी छु ।’नवजात शिशुले उचित स्याहार पाउन सकेका छैनन् । पराल बालेको घुरको धूवाँनजिकै शिशुलाई सुताउने गरिएको छ । नवजात शिशुलाई लगाउन तेलसमेत नभएको सुत्केरी महिलाको गुनासो छ ।
बुहारी सुत्केरी भए पनि तागत दिने खानेकुरा किन्न पैसा नहुँदा सुक्खा रोटी र भात खुवाउने गरेको बुधनीदेवीकी सासू ठगनीदेवी मुसहरले बताइन् ।मुसहर बस्तीका १२ भन्दा बढी महिला सुत्केरी भएको एक महिना पनि नाघेको छैन । उनीहरूको आर्थिक अवस्था नाजुक छ । बाढीले जीर्ण बनाएको झुपडीमा गुजारा चलाउँदै आएका मुसहर परिवार शीतलहरका कारण थप पीडित छन् । एक सयभन्दा बढी बालबालिका न्यानो कपडा नहुँदा परालको घुर तापेर जाडो कटाइरहेका छन् भने राति परालमा सुत्न बाध्य छन् ।परालको सुकुल बुन्दै गरेकी सीतादेवी मुसहरले भनिन्, ‘साना केटाकेटीलाई परालमा सुताउँछौं, सुकुल ओढाउँछौं, कपडा छैन ।’ स्थानीय महिला परालको सुकुल बुनिरहेका भेटिन्छन् । ‘सिरक, डस्ना किन्न पैसा छैन, कमाएको पैसाले खानै पुग्दैन’, देउती देवीले भनिन् ।जाडोका कारण सुत्केरी तथा बालबालिका बढी पीडित बनेको स्थानीय शिवशरण माझीले बताए ।