काठमाडौं/ न्यू इयर इभ मनाउने बहानामा होहल्ला, झगडा तथा अराजक गतिविधि गर्ने ६३ जना पक्राउ परेका छन् । प्रहरीले ठमेल, दरवारमार्ग तथा लाजिम्पाट क्षेत्रबाटउनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए ।
प्रहरीको नियन्त्रणमा रहेका ६३ जनामध्ये ६२ पुरुष र एक महिला रहेका छन् । पक्राउ परेका अधिकांशले मदिरा सेवन गरी झैझगडा गरेको देखिएको एसएसपी धानुकले बताए । न्यू इयर इभलाई लक्षित गर्दै राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार क्षेत्रमा विषेश सुरक्षा व्यवस्था मिलाइएको थियो ।
राजधानीमा सामान्य दिनमा नै दैनिक ६० देखि ७० जना अवैध गतिविधि गर्ने प्रहरीको नियन्त्रणमा पर्दै आएका छन् । सबैभन्दा बढी चहलपहल हुने दरबारमार्ग, ठमेल, क्षेत्रपाटीलगायतका स्थानमा मात्र १२ सयभन्दा बढी प्रहरी खटाइएको थियो ।