मोरङ /निर्वाचन जित्ने होडवाजीमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा देशको प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाको हस्ताक्षर भएको फर्जी सदस्यता जबरजस्ती वितरण भएको रहस्य खुलेको छ । नेपाली कांग्रेसका स्थानीय नेताहरुले विभिन्न पार्टीका नेता कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै झुटो विवरण बनाएर पुरानो मिति (मंसिर १४) राखेर मौन अवधिमा पनि रातीराती जवरजस्ती सदस्यता वितरण भइरहेको रहस्य खुलेको हो ।  मोरङ ३ अन्तरतग पथरीशनिश्चरे नगरपालिका ९ नम्बर वडा घर भएका जनसमाजवादी पार्टीका कार्यकर्ताको घर घरमा गएर कांग्रेस पार्टीको सदस्यता काटेर छिमेकीमार्फत हात लगाएको तथ्य फेला परेको छ । आफू पार्टीको लागि भोट माग्न गएको बेला घरमा आएर परिवारलाई जवरजस्ती सदस्यता छाडेर गएको स्थानीय टंक तामाङले वुधबार पथरीमा पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए । मोरङ ३ बाट प्रदेशसभा सदस्यका उम्मेदवार आफ्ना दाजू मिशन सेर्पाको प्रचार प्रसारमा हिँडेका आफुहरु कांग्रेसको कार्यकता हुनै नसक्ने जिकिर गर्दै तेन्जी शेर्पाले त्यसखाले गतिविधिप्रति घोर आपत्ति जनाए । जनसमाजवादी पार्टी नेपालका कार्यकर्ताहरु रविन तामाङ, वीरबहादुर तामाङ, टंक तामाङ, तेन्जी शेर्पा, सुनिता तामाङ लगायतको घरमा जवरजस्ती कांग्रेस पार्टीको सदस्यता छाडेर गएको रविन तामाङले बताउँछन् । नेपाली कांग्रेस सम्बद्ध छिमेकी खन्तरे लिम्बू नामका व्यक्तिले तामाङ लगायतका परिवारमा घरलौरी यस्तो सदस्यता जवरजस्ती वितरण गरेको वीरबहादुर तामाङले बताए । जनसमाजवादी पार्टीका केन्द्रीय सदस्य मिलन लिम्बूले आफ्ना कार्यकर्तालाई एमालेबाट कांग्रेसका प्रवेश गरेको झुटो कुरा कोणसभाहरुमा प्रचार गर्नुका साथै मौन अवधिमा समेत कांग्रेसमा भोट हाल्न फोनमार्फत दवाव दिँदै निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन समेत गरेको पत्रकार भेटघाटका क्रममा टिप्पणी गरे । उनले भने ‘मौन अवधिमा समेत एउटा सदस्य बराबर १ लाख बराबरको स्वास्थ्य विमा गरिदिने भन्दै कांग्रेस कार्यकर्ताहरुले फर्जी सदस्यता वितरण गर्दै दवाव सिर्जना गरिरहनु कहाँसम्मको काम हो त ?’ उनले मौन अवधिमा मंसिर १९ गते राती समेत कांग्रेस पक्षले फोन गरेर १ लाखसम्मको निशुल्क स्वास्थ्य विमा हुने तथा उम्मेदवार सुनील शर्माको नोवेल अस्पतालमा निशुल्क उपचार गरिने भन्दै आफ्नो पार्टीमा भोट हाल्न दवाव दिएर नत्र सदस्यता रसिद फिर्ता लिनु भन्दै दवाव दिएको उनले सुनाए । कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको १०२११९३, १०२११९६ लगायतका नम्बर भएको फर्जी सदस्यता रसित वितरण भएको फेला परेको  । एकापटी सदस्यता वितरण गर्ने हस्ताक्षर, वीचमा देउवा र अर्को छेउमा प्राप्त गर्नेको हस्ताक्षर गर्ने ठाउँ रहेको छ । फरक—फरक व्यक्तिको नाममा छाडिएको रसिदमा प्राप्त गर्नेको हस्ताक्षर भने एकै प्रकारको रहेको छ । सुवासराज काफ्लेको नेतृत्वमा रहेको जनसमाजवादी पार्टी, सीपी मैनालीको नेतृत्वमा रहेको नेकपा मालेसँग चुनावी तालमेल गरेको छ । त्यसै गरेर पथरीशनिश्चरे—१ एकता चौकमा एमाले समर्थकहरु रेखा राई, देउमाया राई लगायतलाई पनि स्वास्थ्य विमाको रसिद भन्दै सदस्यता वितरण गरेर कांग्रेसमा भोट मागेको स्थानीय सुन्दरकुमार पुडासैनीले बताए । मौन अवधिमा आफ्ना कार्यकर्ताहरुलाई समेत रसिद वितरण भएको माओवादी केन्द्रका नगर सदस्य भूवनसिंह लिम्बूले जनाए । कांग्रेसको नगर कमिटी तहले भनें त्यसखाले गतिविधि पार्टीले नगरेको जिकिर गरेको छ ।