ताप्लेजुङ/ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेको अति दुर्गम दुई मतदान केन्द्रको मतपेटिका सोमबार विहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याईएको छ ।

विहान करीब साढे सात बजे गएको हेलिकोप्टरले फक्ताङ्लुङ गाउँपालीका ७ मा रहेको ग्याब्ला प्राविको केन्द्र र याङ्मा आधारभुत विद्यालयको मतपेटिका हेलिकोप्टरले ल्याएको हो । ४९ मतदाता रहेको ग्याब्लामा २५ मत खसेको थियो भने ५७ मतदाता रहेको याङ्मामा १६ मत खसेको थियो ।

ग्याब्ला, याङ्मा, ओलाङ्चुङगोला र घुन्साको मतपेटिका दुर्इ चरणमा हेलिकोप्टरबाट  मतपेटिका सदरमुकाम ल्याईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिए ।

नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङ स्थित नेपाली सेनाकै गुल्ममा राखिएकाले मौषममा सुधार हुन साथ ती दुई स्थानको पनि मतपेटिका सदरमुकाम ल्याइएकाे  प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जनकारी दिए ।

हिजो भएको मतदानमा १३१ मतदाता रहेको घुन्सामा ५९ र २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो ।   चारै स्थानमा जम्मा ४ सय ५९ मतदाता रहेकोमा १ सय ९४ मात्रै मत खसेको थियो । हिडेर आउन कम्तिमा चार दिन लाग्ने भएकाले खसेको १ सय ९४ मत सदरमुकाम ल्याउन लाखौ खर्चिएर सरकारले हेलिकोप्टर प्रयोग गर्नुपरेको छ ।

यता १ सय १४ केन्द्रमध्ये चार केन्द्रको बाहेक १ सय १० केन्द्रको मतपेटिका भने स्थल मार्गबाट सदरमुकाम आईरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभयो । उनका अनुसार हेलिकोप्टरबाट ल्याईएका दुई केन्द्र सहित ३८ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आईपुगेको छ ।

हाल सम्ममा ७३ स्थल मध्य २२ स्थानको ३८ केन्द्रको आईपुग्यो अन्य स्थानको पनि आउने क्रममा रहेका छन् कार्किले भने ।