शनिश्चरे  । भोट माग्ने तरिका र निर्वाचन आचारसंहिताको प्रसंगले समेत चर्चामा रहेको मोरङ ३ को निर्वाचन माहोलबीच वाम गठवन्धन र नेपाली कांग्रेसबीचको टकराव चलिरहेको छ । कांग्रेसका सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार सुनील शर्माले निशुल्क स्वास्थ्य शिविरका नाममा भावनात्मक दवावमा अनि विजुलीका पोल सहितका सामग्री वितरण गरेर प्रत्यक्ष तबरले भोट तान्ने काम गरेको भन्दै वाम गठवन्धन पक्षले कडा टिप्पणी गर्दै आएको छ । कांग्रेस पक्षले भनें वाम गठवन्धनका तर्फबाट एमालेका प्रभावशाली उम्मेदवार भानुभक्त ढकाल काठमाडौंमा राजनीति गरेर वसेका ‘पर्यटक उम्मेदवार’ ले स्थानीय क्षेत्रको विकासमा केही नगर्ने भन्दै उस्तै आलोचना गर्दै आएको छ । नोवेल अस्पतालका निर्देशक शर्माले आफु यसबेला निर्देशकका रुपमा नरहेको भनेपनि सोही अस्पतालमार्फत भइरहेको निशुल्क स्वास्थ्य शिविरलाई विशेष अदालतले निर्वाचन आचारसंहिताको उलंघन गरेको फैसला दिएको छ । स्थानीय तहको निर्वाचनको परिणामको आधारमा कांग्रेस भन्दा दोब्बर वढी मत वाम गठवन्धनको रहेको कुरा राख्दै सो पक्षले आफ्नो जीत सुनिश्चित रहेको दावी गर्दै आएको छ । त्यो कुरालाई चिर्न विभिन्न चुनावी तौरतरिका अपनाउनका लागि कांग्रेसले खर्चवाल शर्मालाई जिम्मा दिएको र उनी हदैसम्म लागि परिरहेको चर्चाले सो क्षेत्र निकै चासोको क्षेत्र बनेको छ । आ आफ्ना हथकण्डा र यस प्रकारको आरोप प्रत्यारोपको चुनावी टकरावबीच आइतबार भनें पथरीशनिश्चरेको पथरी चोकमा आमनेसामने भएर दुई पक्षका आ आफ्ना कार्यक्रमको टकराव थपियो । आफ्ना पक्षका क्षेत्रका युवा अगुवा धनकुमार तामाङमाथि शनिवार राती हातपात गरेको भन्दै पर्वे भनिने भीम रसाइली सहित एमाले पक्षका १ नम्वर वडाध्यक्ष वाबुराम एङ्देनलाई दोषारोपण गर्दै धनकुमारकी श्रीमती सुशीलाले प्रहरीमा उजुरी दर्ता गरिन् । त्यसपछि रसाइलीकी आमा मोतिमायाले धनकुमार पक्षधर पुष्प लामाहरु सहित राती आफ्नो घरमा आई ज्यान मार्ने धम्कि दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले धनकुमार र कांग्रेसका युवा नेता केशव दुलाल समेतको विरुद्ध उजुरी गरेकी छन् । एकसाता अघि पनि धनकुमार सहितका युवाहरु आएर घरमा धम्कि दिएको कुरा उनले थपिन् । कांग्रेस पक्षबाट क्षेत्रीय सभापति गणेश खड्का र पथरीशनिश्चरे नगर सभापति टेकबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी प्रहरी प्रशासन र एमाले पक्षमाथि दोषारोपण गरेका थिए । त्यस क्रममै कांग्रेस युवाहरुले विहान ११ बजेदेखि पथरी चोकमा आधा घण्टा यातायात अवरुद्ध गरी टायर बालेका थिए । त्यसपछि पत्रकार सम्मेलनमार्फत आफ्नो आक्रोस पोख्नै लाग्दा वाम गठवन्धन पक्षका युवाहरुको ठूलो र्याली निस्कियो । एमालेबाट भर्खरै कांग्रेस प्र्रवेश गरेका तामाङले चाँही कुटपिट गरेका युवालाई प्रहरीले उल्टै थुनेर अन्याय गरेको भन्दै पक्राउ परेका रसाइलीलाई तुरुन्त रिहाई गर्नुपर्ने भन्दै र्याली इलाका प्रहरी कार्यालयको गेट अगाडि पुगेर धर्नाको शैलीमा कडा शव्द प्रहार गर्यो अनि बजार परिक्रमका लागि निस्कियो । त्यसपछि कांग्रेस पक्षले विज्ञप्तिमा उल्लेख भएको कुरा पत्रकारहरुलाई जानकारी गराउँदै एमाले सहितका वाम गठवन्धनको विरोध गर्दै आफ्ना कुरा राख्यो । वाम पक्षका युवाहरुको र्याली चोकमा आइपुग्यो र कोणसभा भयो । डेढसय मिटरको दुरीमा रहेको कांग्रेस र वाम गठवन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय छ । पूर्वमा रहेको वाम गठवन्धनको कार्यालय अगाडिको कोणसभामा पश्चिमतर्फ फर्किदै शनिवार रातीदेखि आइतबार विहानसम्मको घटनाक्रमलाई संकेत गरेर वाम नेताहरुले आफ्ना मन्तव्य राखे । वाम गठवन्धनका तर्फबाट उम्मेदवार ढकालले भने ‘अहिले चाँही अरु जस्तो हामी उत्तेजित भइहाल्नु हुँदैन । धेरै भयो भनें सहनु पनि हुँदैन ।’ कार्यक्रममा बोल्ने क्रममा युवा संघका केन्द्रीय सचिव पर्शुराम वस्नेतले कांग्रेस उम्मेदवार शर्मालाई संकेत गर्दै भने ‘दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रलाई सघाएको तथा राजनीतिक पृष्ठभूमि नै नभई पैसाको भरमा कांग्रेस जिताउने उनको दिवास्वप्न मंसिर २१ गतेपछि चकनाचुर हुन्छ ।’ माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् वाम गठवन्धनको जिल्ला निर्वाचन परिचालन समिति सहसंयोजक गोपी अछामीले वाम गठवन्धनको पक्षमा जनलहर सिर्जना भएकाले निर्वाचनपछि वामपन्थीको सरकार वन्ने बताए । ‘सर्वत्र हामीमाथि जिम्मेवारीको लहर सिर्जना भएको छ । जसका कारण वहुमतको सरकार वनाई पार्टी एकीकरण गरी देशलाई स्थीरता तथा समृद्धितर्फ हामी लान्छौं ।’ एमाले निकट युवा संघ र माओवादी निकट वाइसीएलको संयुक्त युवा भेलालाई मार्चपासको शैलीमा बजार क्षेत्रमा उतारेर आफ्नो विशाल जनमत रहेको देखायो । ५ हजार बढीको संख्यामा निधारमा रातो फेटा वाँधेका युवाहरु वाम गठवन्धनका नारा लगाउँदै भोट माग्दै बजार परिक्रमा गरेका थिए ।