इनरुवा/ सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले जानकारी दिए । मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले तत्काल राजपा नेपालका नेता तथा सो क्षेत्रका उम्मेदवार रामनारायण यादवले राहत प्रदान गरे । यादवले प्रतिपरिवार एक बोरा भुजा, च्युरा, तरकारी, नून, भुजियालगायतका राहत सामग्री वितरण गरेकाे राजपाले जनाएको छ । यसैगरी वडा कार्यालयले साँझ प्रतिपरिवार एक बोराका दरले चामल, नून, तरकारी, १ बोरा भुजा, ५ केजीका दरले च्युरा, एक लिटरका दरले खाने तेल, दुई केजी दाल, ५ केजी आलुलगायतका राहत सामग्री वितरण गरेको वडा कार्यालयका रामचन्द्र यादवले जानकारी दिए ।