काठमाडौं/प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्रालयसमेत सम्हालेका उनले मतदातालाई निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिए । ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिने काम गृह मन्त्रालयको हो’ भन्दै उनले जनताको सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए । उनले सुरक्षाकर्मीलाई ‘चेन अफ कमान्ड’अनुसार चल्न निर्देशन दिए । पछिल्लो समयमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै सुरक्षा रणनीति बनाएर अगाडि बढ्न सुरक्षाका चारओटै निकायलाई उनले निर्देशन दिए । ‘मतदाताले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ’ भन्दै उनले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई तत्काल प्रभावकारी काम गर्न निर्देशन दिए । गृह मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको गोष्ठीमा बढ्दो सुरक्षा चुनौतीबारे सुरक्षा निकायका अधिकारीहरुबीच रणनीतिक छलफल हुनेछ । गोष्ठीमा देशका विभिन्न ठाउँमा भएका विस्फोटका घटना र क्षतिकाबारेमा समीक्षा गर्ने र रोक्ने उपायबारे छलफल हुनेछ । गोष्ठीमा प्रदेश नम्बर–३ का प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहेको छ ।