धरान/‘सतविज’ छर्दा पितृहरुको उद्दार हुने शिवपूराणमा उल्लेख भए अनुसार हिन्दुधर्मालम्बीहरुले शुक्रबार देशका शिवालय मन्दिरहरुमा पुगेर सतविज छरेका छन् । [caption id="attachment_60912" align="alignnone" width="960"] धरानकाे पिण्डेश्वर मन्दिरमा सतबिज छर्नेहरूकाे भीड । तस्बिरः भाेजराज श्रेष्ठ[/caption] यो क्रममा धरानकाे पिण्डेश्वर मन्दिरमा पनि ‘सतविज’ छर्नेहरुको भीड लागेको छ । बुबाआमा तथा सासुससुरा नभएकाहरुले शिवालय मन्दिरहरुमा पुगेर सतविउ छर्दै पितृ उद्दारको कामना गर्ने गरेका छन् । दिवंगत भएका पितृहरुलाई खुसी पार्नको लागि पनि शिवालय मन्दिरहरुमा सतविउ छर्न आइपुग्ने गरेका छन् । पिण्डेश्वर मन्दिर धरानमा भेटिएकी मोरङ विराटचौककी सीता पोखरेलले भनिन्, ‘उहिले–उहिले छर्दै ल्याएको । आमाबुबाको नाममा यसो छर्दा उद्दार हुन्छ कि भन्ने छ ।’ उनैको नजिक भेटिएकी मनमाया कोइरालाले पनि बाजेबराजुदेखि गर्दै ल्याएको कुराको निरन्तरता रहेको बताइन् । पिण्डेश्वरमा केही वर्षयतादेखि पितृहरुको उद्दारमा सतविउ छर्नेहरुको घुइचो लाग्ने गरेको छ । विशेष गरी सुनसरीको बराहक्षेत्र, पिण्डेश्वर, विष्णुपादुका र रामधुनीमा यो दिन सतविउ छर्नेहरुकै कारण मेला झै लाग्ने गरेको छ । शिवपूराणमा उल्लेख भए अनुसार शिव भगवानको भक्तको रुपमा तत्कालीन समयका काशिराज भन्ने राजा थिए रे । शिवजी गुप्तवास बस्ने समयमा शिवका भक्त रहेका काशिराजले शिवलाई  देखेछन् । त्यसपछि शिवले म गुप्तबासमा रहेकाले यो कुरा कसैलाई नभन्नु भनेछन् । तर, राजा काशिराजको अनन्य मित्र पनि शिवभक्त भएकाले काशिराज हरेक दिन जंगलमा केही समय हराउने गरेको थाहा पाएपछि उक्त कुरा बारे जान्ने प्रयास गर्दा काशिराजले मित्रको आँखामा पट्टी लगाएर शिवले भक्ति गरेको ठाउँमा पु¥याउने अठाेट गरे । त्याे समयमा ति मित्रले बाटाे पहिल्याउन तोरीको गेडो छर्दै गएछन् । जव शिवलाई भेट्नका लागि जाँने क्रममा त्यही तोरी फुलेको रहेछ । र त्यही फुलेकाे ताेरी पहिल्याउँदै जाँदा शिवकाे भक्ति गरेको स्थानमा शिवलिङ्ग भएर बसेको शिवपूराणमा उल्लेख रहेको जानकार पण्डितहरु बताउँछन् । त्यसपछि यतादेखि नै शिवालयहरुमा सतविउ छर्ने प्रचलन रहेको भन्ने विश्वास रहेको धरान–१४ निवासी प्रा.डा. राजेन्द्र शर्मा बताउँछन् । सतविज छरेको बाटो हिड्दा शिवको धाम पुगिन्छ भन्ने विश्वास रहेको उनको भनाइ छ । त्यही विश्वासका साथ भक्तालूहरु हरेक वर्ष शिवालयहरुमा भीड लाग्ने गरेका छन् ।