जनकपुरधाम/ स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएकी एक महिला आफ्नो छोरा सहित गाँजा व्यापारमा संलग्न रहेको आरोपमा पक्राउ परेकी छिन् । धनुषा जिल्लाको सबैला नगरपालिका- १३ ढोलवाजा टोलमा पसलनै थापेर लागुपदार्थ गाँजाको बिक्रीवितरण गर्दै आएका आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गणेशमान चारनाथ नगरपालिका ३ निवासी ५० वर्षीय कलसिया देवी महरा र उनका दुई छोराहरु २४ वर्षीय देवेन्द्र महरा र रामअवतार महरालाई प्रहरीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा अन्दाजी १० किलो गाँजासहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका तीनै जना लामो समयदेखि लागु औषध गाँजाको कारोबारमा संलग्न रहेको जानकारी आफूहरुलाई प्राप्त भएको प्रउ सिंहले बताए ।

यसैक्रममा प्रहरीले जिल्लाको सबैला नगरपालिका- ८ स्थित ठिल्ला गाउँबाट अवैद्य हातहतियार ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा एक थान कटुवा पेस्तोल र एसएलआरमा लाग्ने तीन राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ५७ वर्षीय सकुर मिया र २० वर्षीय अनिल पासवान रहेको जनाइएको छ । पक्राउ परेका सबै अभियुक्तलाई अदालतमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।