काठमाडौं । सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ। भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापतको अर्बौं राजस्व छली हुँदै आएको खुलेको हो। मुलुकभरका घरजग्गा कारोबार तथ्याङ्क राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाइनमार्फत निगरानी गरिएपछि एकै वर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ। यो तथ्याङ्कले विगतमा मालपोतका कर्मचारी घरजग्गा दलाल र लेखापढी व्यवसायी लगायतको मिलेमतोमा अर्बौं रुपैयाँ राजस्व छली हुँदै आएको देखिएको हो। विभागको योजना शाखाका निर्देशक तथा सूचना अधिकारी सुशील आचार्यले विभागले गरेको नीतिगत सुधार र अनुगमनका कारण गत वर्ष राजस्व असुली उच्च भएको जानकारी दिए। ’घरजग्गा किनबेच विवरणलाई अनलाइनमार्फत हेर्ने व्यवस्था गरेपछि राजस्व बढी उठेको छ,’ आचार्यले भने, ’गतवर्षको तथ्याङ्कलाई हेर्दा विगतमा कम राजस्व उठेको मान्नै पर्छ।’ केही वर्षअघि आन्तरिक राजस्व विभागले पनि गुट्खा, पान, सुर्तीजस्ता वस्तुको प्याकेटमा अन्तशुल्क स्टीकर लगाउँदा यसैगरी राजस्व बढी उठेको थियो।