अमेरिका/अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ मङ्गलवार यस वर्षकै उच्च विन्दुमा पुगेको छ । उत्तरकोरियाले उक्त दिन जापानी आकाशमा ब्यालेष्टिक क्षेप्याशस्त्र परीक्षण गरेको थियो । सो परीक्षणले अमेरिका अनि यसका मित्रराष्ट्र र प्योङयाङबीच तनाव बढ्ने आशङ्कामा सेफ हेभन एसेटको माग बढ्दा सुनको भाउ बढेको हो । न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अघिल्लो दिन झण्डै डेढ प्रतिशतले बढेको सुनको भाउ मङ्गलवार पुनः बढेको थियो । उक्त दिनको कारोबारमा कोमेक्समा कारोबार शुरू भएदेखि नै तत्कालै डेलिभर गरिने स्पट गोल्डको भाउ उकालो लागेको थियो ।

मध्याह्नपछिको कारोबारमा स्पट गोल्डको भाउ बढेर प्रतिऔंस १ हजार ३ सय २५ डलर ६१ सेण्टसम्मको उच्च विन्दुमा पुगेको थियो । यो गत नोभेम्बर ९ यताकै उच्च हो । त्यसपछि भने यसका केही करेक्शन आएको थियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ५ बजे स्पट गोल्ड प्रतिऔंस शून्य दशमलव ८५ प्रतिशतको वृद्धिसहित १ हजार ३ सय २० डलर ८७ सेण्टमा किनबेच भइरहेको थियो । उता, सोही समयमा यूएस गोल्ड फ्यूचर्ससमेत प्रतिऔंस शून्य दशमलव ७७ प्रतिशतले बढी १ हजार ३ सय १९ डलर ८५ सेण्टमा पुगेको थियो ।

सन् २०१७ शुरू भएयता सुनको भाउ १५ प्रतिशतले बढेको छ । यस वर्ष जुनबाहेक सबै महीनामा सुनको भाउ बढेको छ । उत्तर कोरिया र अमेरिकाबीचको बढ्दो तनावले एशियामा हिंसात्मक स्थिति उत्पन्न हुने आशङ्कामा लगानीकर्ताहरूले सुन, येन लगायतका परम्परागत र बिट्क्वाइन जस्तो आधुनिक सेफ हेभन एसेटमा लगानी बढाइरहेका छन् । यस वर्ष अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको ब्याजदर वृद्धि थप सुस्त हुने अपेक्षामा अमेरिकी डलर कमजोर बनेको छ । यसले अन्य मुद्रावाहकका लागि डलरमा किनबेच हुने पहेँलो धातु सस्तो बन्दा माग बढेसँगै भाउ पनि बढेको हो । एजेन्सी