धरान/राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समितिको पहलमा रोगबाट पीडित अतिविपन्न एक दलित परिवारलाई घर निर्माण गरिदिएको छ । करिव ढेड लाख रुपैयाको लागतमा घर निर्माण गरी सोमबार एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय उपाध्यक्ष तथा लिम्बुवान इन्चार्ज चन्द्रबहादुर खापुङहाङले हस्तान्तरण गरे । बराह नगरपालिका–८ सालबन्दी बाँधडाडाकी एकल महिलासमेत रहेकी बालकुमारी बिकले घर प्राप्त गरेपखि खुशी हुँदै पार्टीलाई धन्यवाद ज्ञापन गरिन । बैदेशिक रोजगारी अन्तर्गत इजरयालमा रहेका पार्टीका मध्यपूर्व एसिया इन्चार्ज सरिख ख्युङ्वाको आर्थिक सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको जिल्ला अध्यक्ष विवेक राई छिन्ताङ्गेले बताए । उनका अनुसार सरिनले एकलाख ३५ हजार रुपैया सहयोग गरेका थिए । कार्यक्रममा पार्टीका उपमहासचिव तथा संगठन विभाग प्रमुख राम परियारलगायतको उपस्थिति रहेको थियो । दृघरोगले प्रताडित बिकको ९ जना छोराछारी रहेका छन् । जसको पालनपोषण पनि उनैको काँधमा रहेको छ ।