काठमाडौँ / व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित आपूर्ति तथा उपभोक्ता हित उपसमितिले अनुदानमा प्राप्त इन्डक्सन चुल्होको मूल्य निर्धारणबारे विस्तृत छानबिन सुरु गरेको छ । उपसमितिले आज आपूर्ति मन्त्रालयका पदाधिकारी, नेशनल ट्रेडिङ्ग लिमिटेडका सञ्चालक साथै इन्डक्सन चुल्होको मूल्य निर्धारण समितिका पदाधिकारीको उपस्थितिमा सो विषयमा छलफल गरेको थियो । बढी मूल्य निर्धारण गरेका कारण इन्डक्सन चुल्हो बिक्री नभएको उपसमितिको निष्कर्ष छ । भूकम्पका बेला चीन सरकारले सहयोगस्वरुप १० लाख चिनियाँ युआन मूल्यबराबरका ३० टन चामल, १० टन खाने तेल, १० टन नुन तथा एक हजार ३०० थान खाना पकाउने इन्डक्सन चुल्हो पठाएको थियो । त्यसमध्ये नेशनल ट्रेडिङ्गले भन्सार छुटाइ बुझाई ल्याएको एक हजार ३०० थान इन्डक्सन चुल्होको सिफारिस समितिले बिक्री मूल्य निर्धारण गर्दा अनुदानलाई लागत मानी प्रचलित बजार मूल्यभन्दा तीनगुणा बढी मूल्य कायम गर्न सिफारिस गरेको थियो । बैठकले सिफारिस समितिको निर्णय, मूल्य कायम गर्न निर्णय गर्ने सञ्चालक समिति र अनुदान रकम घटाएको भनी मूल्य कायम गर्न राय दिने अर्थ मन्त्रालयको कामकारबाही उचित नदेखिएकाले यससँग सम्बन्धित सम्पूर्ण कामकारबाही माथि थप छानबिन गर्ने निर्णय गरेको छ । इन्डक्सन चुल्होको मूल्य निर्धारण सम्बन्धमा अर्थ मन्त्रालयको राय, भन्सार असुली, अनुदान कट्टा गरिएको भनिएको विषय, निर्णय प्रक्रियामा देखिएको विलम्बलगायत विषयमा उपसमितिले आगामी बैठकमा अर्थमन्त्रालयका सचिव र सम्बन्धित पदाधिकारीसँग छलफल गर्ने जनाएको छ । उपसमितिले अनुदानबापत कट्टा गर्नेसम्बन्धी अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट भएका पत्राचार, अर्थमन्त्रालयको सचिवस्तरको २०७२ पुस २८ गतेको मूल्य कायम गर्ने सम्बन्धमा राय उपलब्ध गराउनेसम्बन्धी सम्पूर्ण कागजात यथाशीघ्र उपलब्ध गराउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । रासस