इनरुवा/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनसरीमा अदुवा र बेसार खेती कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । परियोजना अन्तर्गत जिल्लालाई अदुवा र बेसारमा आत्मनिर्भर बनाउन पकेट क्षेत्र छुट्याएर आधुनिक खेती थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाई सुनसरीले सदरमुकाम इनरुवामा जिल्लास्तरीय अभिमुखीकरण गोष्ठी आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।
दश वर्षे परियोजनाका लागि सुनसरीमा ६ करोड ८६ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको परियोजना प्रमुख महेन्द्रराज पौड्यालले जानकारी दिए । खेतीका लागि उर्वरा क्षेत्र र मौसमको प्रतिकूलतालाई मध्यनजर गरी सुनसरीको पाँचकन्या र विष्णुपादुका क्षेत्रमा अदुवा र बेसारको खेती कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजकान्त झाले बताए ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठ, दलका प्रतिनिधि सहित सरोकारवालाहरुको उपस्थिति थियो । कार्यक्रमका सहभागीहरुले परियोजनाको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए । प्रजिअ पराजुलीले पारदर्शी र जवाफदेहीतालाई ख्याल गर्दै कार्यक्रम अघि बढाउन निर्देशन दिएका थिए ।