लहान /  सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मारमा परेका छन् ।  विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माडर, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण भेगमा रहेका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको छ । घण्टौंसम्म लाइनमा बस्दा पनि पेट्रोल नपाएपछि मिनरल वाटर र मदिराका बोतलमा एक सय ५० प्रतिलिटरका दरले पेट्रोल किनेर प्रयोग गर्नु परिरहेको सिरहा माडरका रामानन्द गुप्ता बताउँछन् । प्रतिलिटर एक सय दुई रुपैयाँ पर्ने पेट्रोल लिन घण्टौं लाइन लाग्दासमेत पाउन नसकेको उनले बताए । सहजरुपमा पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको भएपनि तस्कर र पम्प सञ्चालकको मिलेमतोमा ग्यालेनमा भरेर भारतीय बजार पठाउने गरेको सर्वसाधारणको गुनासो छ । सीमावर्ती भारतीय बजारमा पेट्रोल नेपालभन्दा करीब चार रुपैयाँ प्रतिलिटर महङ्गो पर्छ । सोही कारण नेपालबाट भारततर्पm पेट्रोल तस्करी हुने गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले पेट्रोल पम्पको अनुगमन गर्न चासो नदिएको उपभोक्ताको गुनासो छ । गोलबजारस्थित नवदुर्गा ट्रेडर्स पेट्रोल पम्पका सञ्चालक रामसगुन यादव एकपल्ट बिक्री वितरण प्रक्रिया खल्बलिँदा सहज हुन कम्तीमा १५ दिन लाग्ने बताउँछन् । ट्याङ्कर सञ्चालकको आन्दोलन, मधेशमा फागुनको तेस्रो हप्ता भएको बन्द–हड्ताललगायत कारणले पेट्रोलियम पदार्थको आपूर्ति केही असहज भएको उनको भनाइ छ ।