धरान/साल्ट ट्रेडिङ्ग कर्पोरेशनले प्याकेटको आयोडिन नुनमा २ रुपैयाँ र ढिके नुनमा ८० पैसा मूल्य बढाएको छ । कर्पोरेशनले नुनको बिक्रीबाट कम्पनी घाटामा गएकोले मुल्य समायोजन गर्नुपरेको बताएको छ । कम्पनीका अनुसार भाउ बढाउन अघि प्रतिप्याकेट आयोडिन र ढिके नुनको मूल्य क्रमशः १८ र ९ रुपैयाँ थियो ।
कर्पोरेशनका प्रवक्ता कुमार राज भण्डारीले कम्पनी नुनको बिक्रीबाट घाटामा गएकोले मूल्य बढाउन बाध्य भएको बताए । उनले आपूर्ति मन्त्रालयका सह–सचिवको संयोजकत्वमा रहेको उच्च स्तरीय नुन अनुगमन समितिलाई ५ रुपैयाँ बढाइ नुनको मुल्य समायोजन गर्न प्रस्ताव गरेकोेमा थोरै मूल्य मात्र बढाउन स्वीकृति दिएको बताए । “बजारमा अधिकांश सामग्रीको मूल्य बढेको छ”, उनले भने “ढिके नुन ७ वर्ष र प्याकेटको नुनको ३ वर्षपछि हामीले मूल्य समायोजन गरेका हौं ।” मूल्य नबढ्दा कम्पनीलाई वार्षिक करिब ३८ करोड रुपैयाँ घाटा भइरहेको उनको भनाइ छ । बढेको मूल्यमा नुनको बिक्री गरे पनि चालू वर्ष करिब २८ करोड रुपैयाँ घाटा हुने उनको दाबी छ । “यो वर्ष बढेको मूल्यबाट करिब १० करोड रुपैयाँ मात्र घाटा न्यूनिकरण हुन्छ”, उनले थपे ।
आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्य प्रसाद श्रेष्ठले साल्ट ट्रेडिङ्गले खरिद तथा बिक्री गर्ने नुनको मूल्य बढे पनि कर्णाली लगायतको दुर्गम करिब २२ जिल्लामा ढुवानी हुने नुनको मूल्य भने नबढेको बताए । नुनको लागत बढेकोले मूल्य बढाएकोे उनको बुझाइ छ । सबै नुनमा अनुदान दिएर सरकारले मूल्य स्थिर राख्न नसक्ने उनको भनाइ छ ।
मञ्च आन्दोलनमा उत्रने
दैनिक अत्यावश्यक उपभोग्य सामग्री नुनको मूल्य बढाएको भन्दै राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च आन्दोलनमा उत्रने भएको छ । मञ्चका सचिव विष्णु तिमल्सिनाले सरकारले हालको उपभोक्ता दिवसको खिल्ली उडाउँदै नुनकोे मूल्य बढाउने निर्णय गरेर उपभोक्ताको ढाड सेक्ने काम भएकोे आक्रोश पोखे । “सरकार नारामा भने उपभोक्ताको हितको कुरा गर्छ”, उनले भने “व्यवहारमा ठिक उल्टो छ ।” मूल्य बढ्नुअघिको मूल्य रु १८ रुपैयाँ पनि उपभोक्ताको लागि बढी भएको भन्दै विरोध गरिरहेको अवस्थामा उपभोक्ता तथा उपभोक्ता सम्बन्धित सरोकार संस्थाहरुबीच कुनै छलफल नै नगरी थाहै नदिइ मूल्य बढ्न गएको उनको भनाइ छ । “हामी आजैदेखि संघर्षमा उत्रन्छौं”, मञ्चका सचिव तिमिल्सिनाले थपे “हामीले पटक–पटक सरकार तथा सरकारको स्वामित्वमा रहेको साल्ट ट्रेडिङसँग नुनको आयात, भन्सार लगायत रकमहरु सार्वजनिक गर्न माग गरेका थियौं, अहिलसम्म भएको छैन ।”