धरान/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्यवृद्धि गरेको आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । अबदेखि पेट्रोल १०१ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य साढे ७७ रुपैयाँ कायम भएको छ ।
यसअघि प्रतिलिटर पेट्रोल ९७ रुपैयाँ र डिजेल–मट्टीतेल ७३ रुपैयाँ थियो । निगमले खाना पकाउने ग्यासको भने मूल्य बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको खनालले जानकारी दिए । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
जसका कारण भारतीय स्थानीय निजी पम्पमा पनि खुद्रा मूल्य बढेकाले नेपालमा मूल्य बढाउनुपरेको निगमको भनाइ छ
। यसअघि १८ साउन मध्यरातिदेखि पेट्रोल र डिजेलको मूल्य दुई–दुई रुपैयाँ घटाइएको थियो । त्यसअघि पेट्रोलको मूल्य ९९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर ७५ रुपैयाँ थियो । त्यस्तै निगमले गत ४ माघमा पनि पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ६ रुपैयाँ घटाएको थियो ।