साढे चार करोड बजेट फ्रिज
इलाम / आर्थिक वर्ष २०७२/७३ मा जिल्ला विकास समितिको रु चार करोड ६० लाख ८२ हजार बजेट खर्च गर्न नसक्दा फिर्ता भएको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण भारतबाट सामान उपलब्ध हुन नसक्नु, पक्की पुलको डिजाइन परिवर्तन हुनु, प्राविधिक जनशक्तिको कमी, उपभोक्ता समिति गठनमा ढिलाइ र समयमै दरबन्दी पदपूर्ति नभएका कारण बजेट खर्च हुन नसकेको स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए ।
स्थानीयस्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजनाको रु दुई करोड ८६ लाख २० हजार फ्रिज भएको छ । देउमाई दोभानमा प्राविधिक कठिनाइका कारण पुलको डिजाइन फेर्नु परेको र ओझेलेमा वर्षात् छिटो हुँदा ढलान गर्न नपाइएको इञ्जिनियर ओम ढुङ्गानाले बताए ।
स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमको रु ५४ लाख, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको रु चार लाख ४५ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ९एलजीसीडीपी० को रु १० लाख ९५ हजार, साना सिँचाइ, नदी नियन्त्रण र अन्य पूर्वाधार विकास कार्यक्रमको रु चार लाख ८४ हजार फिर्ता भएको छ ।
जिविस आन्तरिक चालुखर्च खाताको रु पाँच लाख ६७ हजार, वैदेशिक ऋण तथा अनुदानको रु १२ लाख १३ हजार, जिविस आन्तरिक पुँजीगत खर्च खाताबाट रु एक लाख २६ हजार रकम खर्च हुन नसकेको हो । सामाजिक सुरक्षा कार्यक्रमको रु नौ लाख पाँच हजार, जिविस अनुदानको रु ५७ लाख २९ हजार, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको रु चार लाख ९४ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रमको रु तीन लाख ९२ हजार गत आवमा खर्च हुन नसकी फिर्ता गएको छ ।
-रासस