विजयपुर । धरान–५ स्थित मसाने खोलामा आएको बाढीले २ नम्बर कल्भर्ट कटान गरेपछि आसपासको बस्ती जोखिममा परेको छ ।
शुक्रबार खोलामा आएको बाढीले कल्भर्ट कटान गरेपछि खोलाको बहाव बस्ती तर्फ मोडिन थालेको धरान–५ का वडासचिव हिरालाल बराइलीले जानकारी दिए । उनका अनुसार खोला बस्तीमा पसेमा तत्काल ५०–६० घर प्रभावित हुन सक्ने अवस्था छ ।
“तल्लो पुलसम्म असर पर्न सक्छ,” वडासचिव बराइलीले भने । उनका अनुसार कल्भर्ट कटानका कारण उक्त क्षेत्रमा सवारीसाधन आवतजावत समेत बन्द भएको छ । स्थानीयवासीले जोखिम नियन्त्रणका लागि तत्काल काम गरिरहेका छन् ।
खोलाको बहाव बस्ती पस्ने जोखिम बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । समयमै आवश्यक सावधानी र नियन्त्रणका उपाय नअपनाए घर तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।
धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले वडासचिव बराइलीलाई घटनास्थलको अनुगमनका लागि पठाएको बताए । उनले घटनाबारे मेयरलाई जानकारी गराइसकेको र तत्कालका लागि ट्रिपर तथा जाली पठाइएको जानकारी दिए । उनले भने, “मेयरलाई जानकारी गराएँ । ट्रिपर र जाली पठाएको छु ।” उनले आफू पनि घटनास्थलमा पुगेर अवस्थाको निरीक्षण गर्ने बताए । स्थानीयवासीले सम्बन्धित निकायलाई तत्काल घटनास्थलमा पुगेर खोलाको बहाव नियन्त्रण, कटान रोकथाम तथा बस्ती संरक्षणका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

