भद्रपुर । झापाको कचनकवल गाउँपालिकामा राजनीतिक खिचातानी र आन्तरिक स्वार्थका कारण लामो समयदेखि टोल विकास संस्था गठन नगरी निर्देशिकाको पालना नगरेको पाइएको छ ।

आउँदै गरेको असार १० गतेलाई मध्यनजर गरी यतिबेला स्थानीय तहहरूले बजेट निर्माणका लागि सुझाव सङ्कलन र योजना टिपाउने काम धमाधम भइरहेको छ । तर, गाउँपालिकाले ‘टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका–२०७५’ पारित गरेको वर्षौँ बितिसक्दा पनि पालिकाका ७ वटै वडाहरूमा बजेटमा स्थानीयको प्राथमिकता र आवश्यकता ओझेलमा परेका छन् । नागरिकहरूलाई स्थानीय योजना तर्जुमा प्रक्रियामा जोड्ने र तल्लो तहसम्म पारदर्शी रूपमा बजेट पु¥याउने बलियो कडी मानिने टोल विकास संस्था नहुँदा पालिकाको समग्र विकास प्रक्रिया नै अनिर्णयको बन्दी बनेको हो ।

नेपाल सरकारले टोल विकास संस्था (गठन तथा परिचालन) संसोधन कार्यविधि, २०७७ मा स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्ततरबाट नै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपना र अपनत्व सृजना गर्न निश्चित भौगोलिक क्षेत्र भित्र बसोबास गर्ने नागरिकहरूको सहभागितामा वडा कार्यालयको सहयोगीका रूपमा काम गर्ने गरी टोल विकास संस्थाको गठन र परिचालनका लागि आवश्यक कानूनी व्यवस्था गरिएको छ ।

तर, वर्षौंदेखि यो प्रक्रिया ठप्प पारिएको छ । नियमानुसार टोलस्तरका उपभोक्ताहरूको भेला बसी आवश्यक्ताका आधारमा योजना छनोट गरी वडामा सिफारिस गर्नुपर्ने प्रावधानलाई पूर्ण रूपमा कुल्चिएको छ । टोल संस्था नभएकै फाइदा उठाउँदै वडाध्यक्ष र सिमित दलका नेताहरूले मनोमानी ढङ्गले आफ्ना निकटका कार्यकर्ता पोस्ने गरी उपभोक्ता समिति बनाउने र खल्तीका योजनामा बजेट खन्याउने परिपाटीलाइ टेवा पु¥याएको छ ।

वडामा २०७४ सालमा टोल विकास संस्था गठन गरेको र पछि कसैले चासो नदेखाए पछि त्यतिकै रहेको वडा नम्बर ७ का वडाध्यक्ष भरत राजवंशीले बताए ।   टोल विकास गठन नभएपनि बजेट तर्जुमा तथा छनोटका लागि टोल–टोलमा गएर सबैका योजनाहरु लिने गरेको उनले जानकारी दिए ।

टोल विकास अपरिहार्य भए पनि गठन गर्न नसकिएको पालिका उपाध्यक्ष नवराज भट्टराई बताउँछन् । २०७४ मा गठन गरिएको संस्थामा महिला मात्र भएकोले कठिनाइ उत्पन्न भएका कारण समावेशी समिति बनाउनलाई पहल गरेपनि कार्यपालिकाबाट पारित हुन नसकेको उनले स्वीकारे । चाहेर पनि एक्लैले गर्नसकिने उनको भनाइ छ । समग्रमा कचनकवल अलिक अशिक्षित नागरिक बसोबास गर्ने भएकाले जनप्रतिनिधिहरुले यसको महŒव बुझाउन नसकेको स्थानीय बताउँछन् ।

छिमेकी पालिकाहरूले टोल विकास संस्थालाई सक्रिय बनाएर स्थानीय स्तरमै सुशासन र पारदर्शिताको राम्रो अभ्यास गरिरहँदा कचनकवलका जनप्रतिनिधिहरू भने कुर्सी र गुटको लडाइँमै व्यस्त देखिएका छन् । टोलस्तरमा हुनुपर्ने सार्वजनिक परीक्षण र सुनुवाइसमेत औपचारिकतामा मात्रै सीमित गरिँदा बजेटको व्यापक दुरुपयोग भइरहेको आरोप स्थानीयवासीको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पालिकामा ४१ हजार ३ सय १७ जनसङ्ख्यामा ७१.२४ प्रतिशत साक्षर छन् ।