धरान । ‘गैरी खेतको शिरै हान्यो, वर्षायामको करौँतीले...’ धेरैको मुखमा झुण्डिने यो गीतका गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । 

प्रेमपिण्ड फिल्मको यो गीतमा उनकै स्वर रहेको छ । प्रसिद्ध भारतीय गायिकाको रूपमा रहेकी आशाले नेपाली, हिन्दीसहित झण्डै १४ वटा भाषामा गीत गाएकी छन् । उनको भारतको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी केही दिनयता अस्वस्थ थिइन् । उनी मुटु तथा श्वास–प्रश्वासको रोगबाट आक्रान्त थिइन् । 

उनले नेपालमा गाएको गीतमध्ये ‘किन बढ्दैछ ढुकढुकी मुटुको, वसन्त नै बस्न खोज्छ यहाँ, साउने झरीमा, झझल्को लिएर आउँछ सावन, यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘मोहनी लाग्ला है’ लगायतका चर्चित छन् । उनले आफ्नो जीवनको पहिलो गीत भने मराठी भाषामा गाएकी थिइन् । सन् १९४३ मा ‘चला चला नव बाकका’ बोलको गीतबाट गायकी सुरु गरेकी उनले हिन्दीमा भने पाँच वर्षपछि डेब्यू गरेकी थिइन् । उनले चुनरिया फिल्मको ‘सावन आया..’ बोलको गीतबाट प्रवेश गरेकी थिइन् । 

उनका छोरा आनन्दले आइतबार दिउँसो मृत्यु भएको खबर पुष्टि गरेका थिए । उनले हजारौँ गीत गाएकी छन् । परिवारको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमका अनुसार उनको अन्तिम संस्कार आज (सोमबार) गरिने भएको छ ।

भारतीय सङ्गीत उद्योगमा एउटा प्रतिष्ठित नाम हो, आशा भोसले । उनलाई भारतीय सरकारले प्रतिष्ठित दादासाहेव फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो । यस्तै सन् २०११ मा गिनिज बुक अफ वल्र्ड रेकर्डले उनलाई सङ्गीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो ।