अहिले विश्वको महाशक्ति अमेरिकाले इरानमाथि गरेको युद्धका कारणले गर्दा त्यसको बाछिटा परदेशिएकाहरुलाई पर्न थालेको छ । युद्धको चापका कारण महँगी रापिएको छ । अरब देशहरुमा गर्मीको तापमानसँगै महँगीको तापमानमा नेपाली दाजुभाइसँगै अन्य विदेशीहरु पर्न थालेका छन् । दुई महिनायता हरेक चिजको मूल्य आकाशिएको छ भने सहजरुपमा सामान उपलब्ध हुन नसक्दा झन् समस्या गहिरिएको छ । अमेरिका र इजरायलले इरानमाथि गरेको युद्धले गर्दा त्यसको प्रभाव अरबका अन्य देशलाई परेको छ । जहाँ अमेरिकाले आफ्ना कम्पनी साथै सैनिकहरुलाई तैनाथ गरेको छ । ती देशहरुमा युद्धको प्रभाव ज्यादा देखिएको छ । जसमा युएई, कतार, बहराइन, साउदी अरब र कुवेतमा सबैभन्दा बढी समस्यामा छन् । 

यहाँ काम गर्दै आएका नेपालीहरु मात्रै अन्य देशबाट कमाउनका लागि पुगेकाहरुलाई पनि समस्या देखिँदै गएको छ । विशेषगरी नेपालीको भान्सा अन्यको भन्दा बढी प्रभावित भएको छ । किनकि नेपालीको औसत तलब एक हजार रियालभन्दा कम रहेको छ । यही कारण खाडी राष्ट्रमा रहेका नेपालीहरु सबैभन्दा बढी समस्यामा छन् । विशेषगरी खाडी मुलुकहरुमा कार्यरत नेपाली कामदारहरु यतिबेला दोहोरो मारमा परेका छन् । एकातिर युद्धको त्रास छ भने अर्कोतिर अचाक्ली बढ्दो महँगीको प्रभाव परेको छ । कतार र बहराइनजस्ता देशहरुबाट आएका पछिल्ला विवरणहरुले पनि एउटा डरलाग्दो चित्र प्रस्तुत गरेको छ । आकाशिएको महँगीको मारले गर्दा नेपालीहरुको अवस्था झनै बिग्रँदो अवस्थामा छ । 

अहिले ती देशहरुमा आपूर्ति शृङ्खलामै पनि अवरोध पुगेको छ । अमेरिका र इरानको शक्ति सङ्घर्षका कारणले गर्दा ढुवानीलगायतमा समस्या देखिएको छ । आवश्यकीय सामग्रीहरु आइपुग्न महिनौं दिन लाग्ने गरेको छ । यसैबीच सुरक्षा संवेदनशीलता पनि उस्तै रहेको छ । अमेरिकी सैन्य क्याम्पहरु लक्षित आक्रमणले गर्दा स्थानीय बजार र व्यापारिक वातावरण त्रसित बनेको छ । आम्दानी स्थिर रहने तर खर्च दोब्बर हुने भएपछि बचत शून्यमा झर्ने र ऋणको भारी बढ्ने जोखिम बढेको छ । यो परिस्थिति केवल आर्थिक मुद्दा मात्र होइन, यो मानवीय सङ्कट पनि हो । कतिपय कम्पनीहरुले बिजनेस नभएको बहानामा कामदार कटौती गर्न थालेका छन् । विदेशी भूमिमा श्रम बेचिरहेका नेपालीहरुका लागि घर पठाउने पैसा (रेमिट्यान्स) जोगाउनु त परको कुरा, दुई छाक टार्न पनि धौ–धौ पर्नु दुर्भाग्यपूर्ण छ ।

अहिलेको अवस्थामा सम्बन्धित देशका सरकारहरुले महँगी नियन्त्रणका लागि केही प्रयास गरे पनि आपूर्ति व्यवस्था सहज नभएसम्म यो सङ्कट टर्ने देखिँदैन । यस्तो बेला नेपाल सरकार र कूटनीतिक नियोगहरुले आफ्ना नागरिकको सुरक्षा र अवस्थाबारे निरन्तर निगरानी राख्न जरूरी छ । श्रम गन्तव्यहरुमा महँगीकै कारण श्रमिकहरु भोकै बस्नुपर्ने वा रित्तो हात फर्किनुपर्ने अवस्था आउनु हुँदैन । युद्धको रापले परदेसिएको भान्सा नडढोस् भन्नेमा विश्व समुदाय र सम्बन्धित राष्ट्रहरु गम्भीर हुन आवश्यक छ ।