धरान । सात महिनाअगाडि मात्रै कतार पुगेका इलाम चुलाचुलीका देउकुमार श्रेष्ठले युद्धले गर्दा भान्सा अचाक्ली महँगिएको बताए । उनले भने, “महँगी सोचिनसक्नु बढेको छ । १५ रियाल प्रतिकेजी पर्ने खुर्सानी चालीस रुपैयाँसम्म पुग्यो । अहिले भने तीसमा झरेको छ ।”
सागसब्जी, मासु, तेललगायत अधिकांशमा मूल्य वृद्धि भएको उनले म्यासेन्जरमार्फत् जानकारी दिए । अहिले सामान्य तलब खाने नेपालीहरूलाई निकै सकस भइरहेको उनले बताए । कतारमा अधिकांश मजदुरको तलब एक हजार रियालभन्दा कम हुने गरेको छ । नेपालीहरू सबैभन्दा बढी मारमा पर्न थालेको जनाइएको छ ।
उनका अनुसार २५ केजी चामलको मूल्य युद्धपूर्व ७५ रियाल थियो भने हाल नब्बे रियाल पुगेको छ । यस्तै डेढ रियाल प्रतिकेजी पाइने प्याजको मूल्य ६ रियाल पुगेको छ । “सबथोकको मूल्य बढेको छ” उनले म्यासेन्जरमा भने, “चामलमा प्रतिबोरा १५ देखि बीस रियाल बढेको छ ।” भान्सा महँगिएसँगै बचत कम हुने गरेको छ । खानमै धेरै खर्च हुने गरेको त्यहाँ रहेका नेपालीहरू सुनाउँछन् ।
करिब १५ वर्षदेखि कतारमा बस्दै आएका गोर्खाका जगतराम बर्देवाले युद्धले गर्दा सामानको मूल्य तलमाथि भएको बताए । “युद्धको प्रभावले गर्दा घरायसी सामानको मूल्य चाहिँ बढ्यो” उनले भने, “यहाँका मान्छेहरूलाई त खासै फरक परेको छैन । तर बाहिर देशबाट आएकाहरूलाई चाहिँ गाह्रो भएको छ ।” हरेक चिजको मूल्य बढेको उनको भनाइ छ ।
बहराइनमा बस्दै आएका झापा कमल गाउँपालिका–५ सूर्यमान श्रेष्ठले दश प्रतिशतले सबैको मूल्य बढेको बताए । “युद्ध हुनुभन्दा अगाडि र अहिले दश प्रतिशतले फरक परेको छ । सामान नै पाउँदैन” उनले म्यासेन्जरमा भने, “महँगी–महँगी नै छ ।” उनका अनुसार कम्पनीहरूको बिजनेस नभएका कारणले मान्छे निकालिरहेको छ । उनले बहराइनमा धेरै अमेरिकी सैनिक क्याम्पहरू भएका कारणले पनि बमहरू हानिरहेको बताए ।
विशेषगरी मध्यपश्चिमी देशहरू बहराइन, साउदी अरब, कतार, युएई, कुवेतलगायत क्षेत्रमा इरानले बम प्रहार गरिरहेको छ । यस क्षेत्रमा अमेरिकाको सैनिक क्याम्पहरू रहेका कारणले पनि आक्रमण भइरहेको हो । जसले गर्दा यी क्षेत्रहरूमा खाद्यान्नलगायत सामानहरू आउन महिनौं लाग्ने भएकाले महँगी बढ्दै गएको हो । कतिपय देशहरूले महँगीलाई केही नियन्त्रण गरेको भए पनि सामान आपूर्ति नभएका कारणले पनि वृद्धि गर्न बाध्य भएको जनाइन्छ ।






























