विजयपुर । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्रको सक्कलप्रति नभए पनि अन्य वैकल्पिक कागजातका आधारमा मतदान गर्न पाइने भएको छ । 

निर्वाचन आयोगका अनुसार मतदातासूचीमा नाम दर्ता भएका तर मतदाता परिचय पत्र नभएकाले अन्य ६ कागजातमध्ये कुनै एकको सक्कलप्रतिले मतदान गर्न पाइने जनाएको छ । मतदान केन्द्रमा प्रवेशका लागि छ प्रकारका कागजातमध्ये कुनै एकको सक्कलप्रति अनिवार्य रूपमा साथमा ल्याउन आयोगले आग्रह गरेको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकता प्रयोग गर्न सकिनेछ । नागरिकता नभए सवारी चालक अनुमतिपत्र, त्यो पनि नभए राहदानी, राहदानी नभए राष्ट्रिय परिचयपत्र र यी सबै कागजात नभएको अवस्थामा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर समेत मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

आयोगले तोकेका छमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लिएर आएमा मात्र मतदातालाई मतदान केन्द्रमा प्रवेश दिइने स्पष्ट पारेको छ ।

भोलि सञ्चालन हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। साथै १४३ अस्थायी मतदानस्थलसमेत तोकिएका छन्। ती केन्द्रमार्फत एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।