धरान । सुनसरीको धरान रङ्गशालामा जारी ‘खेलकुद महोत्सव’ थप तीन दिनसम्म लाग्ने भएको छ ।
महोत्सव आयोजक समिति धरान खेलकुद मञ्चले तीन दिनसम्मका लागि सम्बन्धित निकायसँग अनुमति लिइएको मञ्चका अध्यक्ष एवम् कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए । “प्रशासनसँग तीन दिनको थप अनुमति लिएका छौँ”–उनले भने । महोत्स्वका लागि इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र धरान उपमहानगरपालिकाबाट अनुमति लिइएको छ ।
उनका अनुसार छोटो अवधि भएकाले महोत्सवमा विभिन्न खेल खेलाउनेहरूले घाटा लागेको जानकारी दिए पछि सोही आधारमा केही समय थप गरिएको हो । महोत्सवमा खेलकुदजन्य खेलहरूसहित जातीय परिकारहरू राखिएका छन् । यस्तै विभिन्न खेलतमासा पनि राखिएको छ ।
प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिँदै आइरहेका छन् । भोलि (शनिबार) गायक यश कुमारले प्रस्तुति दिने अध्यक्ष राईले जानकारी दिए । समापनको दिन विभिन्न सङ्घसंस्था तथा खेलाडीहरूलाई सम्मानित गरिने कार्यक्रम रहेको छ ।
































