अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आगामी चैत २३ गतेदेखि आयोजना हुने भएको छ ।

साता दिनसम्म सन्चालन हुने नकआउट स्पर्धामा आयोजक न्युस्टार क्लबसहित भारतका दुई टिम, विभागीय दुई टिमसहित ८ टिमले सहभागिता जनाउने छन् । बुधबार न्युस्टार क्लबको हल कालाबन्जरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको छ ।

प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष भेषराज कार्कीले जानकारी दिए । 

प्रत्येक खेलका म्यान अफ द म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने राइजिङ प्लेयर घोषित खेलाडीले समेत १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा न्युस्टार क्लबका अध्यक्ष कार्कीले स्थानीय, क्षेत्रीय र राष्ट्रियस्तरका फुटबल प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यले निरन्तर सञ्चालन गरिएको जानकारी दिए ।

वडाको बजेट बढ्यो, नगरले घटायो
आर्थिक तरलताका कारण भरौल गोल्डकपले चालू प्रतियोगितामा बजेट घटाएको छ । गत संस्करणमा ५५ लाख बढी बजेटमा आयोजना गर्को प्रतियोगिता ४१ लाख रुपैयाँको स्टिमेटमा सक्ने बताइएको छ । आर्थिक सङ्कलन र सहयोग पर्याप्त नभएका कारण पनि गोल्डकपले बजेट घटाएको आयोजकको भनाइ छ ।

बराहक्षेत्र नगरपालिकाले गत वर्षभन्दा १ लाख रुपैयाँ घटाएर ५ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतियोगिताका संयोजक तथा बराहक्षेत्र-५ का वडाध्यक्ष रोहित काफ्लेले खेलकुद विकास समितिले विनियोजन गरेको रकममा थप हुने सम्भावना रहेको बताए ।

नगरले बजेट घटाए पनि वडा नम्बर ५ ले यस पटक प्रतियोगिताका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

'बजेट प्राप्ति कम भएकै कारण यसपटक खर्चसमेत मितव्ययी गरेका छौं,' क्लबका अध्यक्ष भेषराज कार्कीले भने,'ए डिभिजन क्लबहरुसँग सहकार्य छोड्ने स्थिति आएको छ, आर्थिक तरलताका कारण समस्या फुटबल प्रतियोगितामा समेत देखिएको छ ।'