इनरुवा । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दालाई लक्षित गरी कपाल काट्ने तालिम सञ्चालनमा ल्याएको छ ।

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्र्तगत सशस्त्र प्रहरी बल नेपालले पहिलो चरणमा सुनसरीको हरिनगर गाउँपालिकामा केशकर्तक (कपाल काट्ने) तालिम सञ्चालनमा ल्याएको हो । उक्त क्षमता अभिवृद्धि तालिमको सशस्त्र प्रहरी बल नेपालका सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी एआइजी नारायणदत्त पौडेलले उद्घाटन गरेका छन् । वराह बाहिनी पकली र नम्बर ४ गण इनरुवा सुनसरी आयोजक रहेको केशकर्तक तालिममा स्थानीय २० जना युवालाई प्रशिक्षण दिइने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

केशकर्तक तालिम सीमा इलाकामा बसोबास गर्ने स्थानीयहरूसँग समन्वय र सहकार्य गरी कार्य सम्पादनलाई प्रभावकारी बनाउने सङ्गठनको उद्देश्य बमोजिम सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीका एआईजी पौडेलले बताए । पौडेलले सङ्गठनले सीमाबासीका समस्यालाई सूक्ष्मरूपमा हेरेको बताए । उनले सीमाबासीका समस्या बुझेर सङ्गठनले स्थानीयको दैनिकी उकास्न र जीविकोपार्जनमा सहयोगी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिए । 

कार्यक्रममा वराह बाहिनी पकलीका बाहिनीपति डिआएजी अञ्जनीकुमार पोखरेलले सीमाको निगरानी र खबरदारीमा सीमाबासीको भूमिका अहम् हुने भएकाले एपीएफले उनीहरूको हकहितको सवालमा ठोस र प्रभावकारी कार्यलाई जोड दिँदै आएको बताए ।  बाहिनीपति पोखरेलले सीमाबासीको सवालमा क्षमता अभिवृद्धिलगायतका कार्यक्रम क्रमशः अन्य स्थानमा समेत आयोजना गर्दै लैजाने जनाए । तालिमप्राप्त दक्ष जनशक्ति आफ्नो क्षेत्रमा अब्बल हुने हुँदा रोजगारीको सुनिश्चितता हुनेसमेत उनले बताए । 

सशस्त्र प्रहरी बलले हरिनगरमा सञ्चालनमा ल्याएको केशकर्तक (कपाल काट्ने) तालिममा पालिकाले छनौट गरेका २० जना स्थानीय सहभागी छन् । उनीहरूलाई १५ दिने निःशुल्क तालिम प्रदान गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीका गणपति एसपी समेनन्द बज्राचार्यले जानकारी दिए ।