धरान । धरानमा आइतबार सम्पन्न लिम्बू विद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनले १४ बुँदे घोषणा–पत्र जारी गरेको छ ।

लिम्बुवान पहिचान मेटाउने गरी नामकरण गरिएको कोशी प्रदेश नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा लिम्बुवान राख्नुपर्ने माग गरेको छ । आत्मनिर्णयको अधिकार र स्वायत्त लिम्बुवान नामकरण गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै याक्थुङ (लिम्बू) भाषालाई प्रदेशको कामकाजी भाषाको रूपमा लागू गर्न तत्कालै भाषा विधेयक संसद्मा प्रस्तुत गर्न माग गरिएको छ ।

साथै उक्त भाषा विधेयक राजपत्रमा प्रकाशित गरी कार्यान्वयन तहमा लैजान प्रदेश सरकारसँग माग गरेको छ । मञ्चका अध्यक्ष नितेश सिङ्गकले लिम्बू बसोबास रहेको मुलुकहरूमा मुन्धुमी परम्परागत ज्ञान, सीप, व्यावहारिक ज्ञान, वैज्ञानिक र औपचारिक शिक्षाका निम्ति उच्च तहसम्म पहल गर्ने घोषणा गरिएको जनाए ।

उनले यस प्रदेशमा लिम्बूको मुन्धुम र भाषा लिपि, साहित्यको वृद्धि विकास गर्दै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी पठन–पाठन गर्न पहल गर्ने बताए । उनले संसारभर रहेका याक्थुङ (लिम्बू) विद्यार्थीहरूको हकअधिकार, संरक्षण सम्बर्धन र प्रवद्र्धन गर्नका लागि अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेको जनाइएको छ ।