धरान । कवि शिरोमणि लेखनाथ पौड्यालको एक सय ४० औँ जन्मजयन्तीको अवसरमा आयोजित खुल्ला कविता प्रतियोगितामा उदयपुरका कवि यदुनाद भण्डारी प्रथम भएका छन् ।

‘के देश दुख्दैन र ?’ शीर्षकको छन्द कविता प्रथम हुँदै नगद १० हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गरे । कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट चौध कविलाई पराजित गरिएको थियो । त्यस्तै झापाका कवि स्नेह पौडल दोस्रो हुँदा सिरहाका रूपेशकुमार सदाय तेस्रो भएका छन् । उनीहरूले क्रमशः नगद ७ हजार र पाँच हजार रुपैयाँसहित प्रमाण–पत्र पाए । यस्तै भोजपुरकी कवयित्री दीपा लुइँटेल सान्त्वना हुँदै नगद ३ हजार रुपैयाँ पाइन् । प्रतियोगितामा ५० भन्दा माथि कविताहरू प्राप्त भएकोमा उत्कृष्ट १५ कविता छनोट गरिएको समाजका सचिव महानन्द तिमल्सिनाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्राध्यापक कोषराज न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए । यस्तै उत्कृष्ट १५ मा पर्न सफल कविहरूलाई पनि प्रमाण–पत्र प्रदान गरिएको थियो । यसैबीच झापा दमक निवासी प्राध्यापक मोहनप्रसाद भण्डारीलाई प्रा. टीकाप्रसाद शर्मा वस्ती पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद १० हजार रुपैयाँ राशिसहित सम्मान–पत्र अर्पण गरिएको छ । यस्तै मोरङ बेलबारी निवासी साहित्यकार तिला लेकालीलाई वेदकुमारी खड्गबहादुर थापा स्मृति पुरस्कार प्रदान गरिएको छ । उनलाई पनि नगदसहित सम्मान–पत्र अर्पण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. तुम्बाहाङले नेपाली साहित्यमा सरल, जनजिब्रोमा झुण्डिने खालका साहित्य रचना गरे कविशिरोमणिको सच्चा सम्मान हुने बताए । उनले हरेक कविले वाचन गर्ने कविताले श्रोता तथा दर्शकलाई तान्न सक्नुपर्ने, मनलाई आनन्द दिन सक्नुपर्ने बताए । ‘यदि कविताले दर्शकहरू मुग्ध भएनन् भने सम्झिँदा हुन्छ, त्यो कवितामा समस्या छ’–उनले भने । यस्तै विशेष अतिथि प्रा. न्यौपानेले कविशिरोमणि त्यसै शिरोमणि नभएको उनको मिहिनेतका कारणले नै सदैव अजर, अमर रहेको बताए ।

कार्यक्रमको पूर्वसन्ध्यामा कविशिरोमणि लेखनाथ पौड्यालको धरान–१६ स्थित अर्धकदको प्रतिमामा माल्यार्पण गर्दै पौड्यालको योगदानको चर्चा गरिएको सचिव तिमल्सिनाले बताए । कार्यक्रममा अप्रतियोगी कविहरूले पनि कविता, गजल वाचन गरेका थिए । प्रतियोगितामा निर्णायकको रूपमा डा. गुरुप्रसाद कोइराला, डा. सुभाषचन्द्र न्यौपाने, र डा. अस्मिता विष्ट रहेका थिए । समाजका अध्यक्ष सिद्धिकर्ण शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।