मोरङको पथरीशनिश्चरे नगरका क्षयरोगीलाई नेपाल मेडिकल ट्रष्ट (बी.एन.एम.टी) ले निःशुल्क खाद्य सामग्री वितरण गरेको छ ।

नगरका १४ जना क्षयरोगीलाई प्रतिव्यक्ति २५ किलो चामल, दाल, तेल, चना, पिठो र सोयाबिनलगायत खाद्य सामग्री  वितरण गरिएको हो ।

खाद्यान्न ६ महिनासम्म निरन्तर वितरण गरिने बीएनएमटीका कार्यक्रम संयोजक पुनम विष्टले जानकारी दिए । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका निम्न वर्गीय परिवारमा बढी क्षयरोग देखिने गरेकोले पौष्टिक आहारको रुपमा खाद्यन्न जिल्लाभरि नै वितरण गरिने बताइएको छ ।

साबिक पथरी गाविसमा १ सय ३ जना क्षयरोगी रहेको, तीन वटा गाविस समायोजन भई नगरपालिका हुँदा एक वर्ष अघि ३६ जना बिरामी रहेको तथ्याङ्क नगरका स्वास्थ्य प्रमुख मुरारी आचार्यले जानकारी दिए ।

खाद्य सामग्री वितरणअघि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईको प्रमुख आतिथ्यतामा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा क्षयरोग बारे जानकारी गराइएको थियो । स्वास्थ्य कार्यालय मोरङको सरुवा रोगसम्बन्धी फोकल पर्सन मुलुकचन्द्रसिंह राजवंशी, पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्य, स्वास्थ्यकर्मी जगत मगरले क्षयरोग यसका लक्षण र सर्ने तरिकाबारे जानकारी गराएका थिए ।