विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा.लि. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेकोप्रति आपत्ति जनाएको छ । अस्पतालमा मङ्गलबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो ।
न्युरो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेर बिरामी ठगी गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

न्युरो हस्पिटलसँग मिल्दोजुल्दो नाम राखी सेवाग्राहीहरूलाई गलत सूचना सम्प्रेषण गरेको उनले बताए । ‘बिडम्बनापूर्वक भन्नुपरेको छ । यस अस्पतालमा पूर्णकालीनरूपमा कार्यरत विशेषज्ञ डाक्टरहरूको बारेमा अफवाह फैलाउने र उनीहरूको संस्थामा आबद्ध छन् भनी भ्रम पार्ने गरेको पनि पाइएको छ । न्युरो अस्पतालको शाखा हो भनी गलत प्रचार–प्रसार गर्नेदेखि वाल पेन्ट, होर्डिङ बोर्ड आदिमा न्युरो अस्पतालसँग मिल्दोजुल्दो विज्ञापन राखी प्रचार–प्रसार गर्ने कार्यसमेत गर्ने गरेको पाइएको छ’ पत्रकार सम्मेलनमा उनले भने, ‘यसरी भ्रममा पारी बिरामीहरूको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने गरेको गुनासाहरू पटक–पटक आएको छ र त्यस विषयलाई हामीले विभिन्न औपचारिक र अनौपचारिक फोरममा समेत उठाएका पनि छौँ ।’

‘न्युरोको कुनै शाखा अस्पताल नरहेको र हामीसँग मिल्दोजुल्दो नाम राखी सञ्चालन गरिएको कुनै पनि संस्थासँग हाम्रो कुनै सम्बन्ध रहेको छैन’–उनले भने । ‘त्यस्ता व्यक्ति, समूहको कुनै आश्वासन, प्रलोभनमा नपर्न तथा कसैले पार्न खोजे न्युरो अस्पतालको आधिकारिक नम्बर ०२१–४१७४८४, ०२१–४१६२६७ मा जानकारी गराउन अपिल गर्दछौँ’–जारी विज्ञप्तिमा उल्लेख छ ।

विराटनगरको एक अस्पतालले मृत घोषणा गरेको शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्दै विभिन्न सञ्चार माध्यमहरूमा आएका समाचार गलत भएकोले र उक्त हस्पिटल न्युरो नभएको उनले बताएका छन् । केही सञ्चारमाध्यमहरूले न्युरो अस्पतालको नाम राखेकोप्रति आपत्ति जनाइएको छ ।

‘सामाजिक सञ्जालमा आम सर्वसाधारणदेखि नागरिक अगुवा, जनप्रतिनिधिहरूसमेत ठूलो भ्रममा परेको देखियो । यो भ्रम भनेको हाम्रो ख्याती र ब्राण्ड नेमलाई अनुचित तवरले  प्रयोग गर्ने गलत प्रवृत्तिले प्रश्रय पाएको कुरा स्पष्ट देखिन्छ । अतः यस्तो घटना फेरि नदोहोरियोस्, फेरि कोही नठगिउन्, फेरि कोही भ्रममा नपरोस् भन्नाको लागि हामी सम्पूर्ण सरकारी संयन्त्र, सरोकारवाला निकाय, नागरिक समाज, मिडियाकर्मी र सम्पूर्ण सर्वसाधारणहरूमा सचेत रहन हार्दिक अनुरोध गर्दछौँ’–जारी विज्ञप्तिमा उल्लेख छ ।