धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागमा नेपालमै पहिलो पटक थ्रीडी गाइट एनालाइसिस ल्याव स्थापना भएको छ ।

प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानका अनुसार जेनेभा युनिभर्सिटी हस्पिटल्स स्विट्जरल्यान्डको सहयोगमा थ्रीडी मेसिन जडान गरिएको हो । उक्त विश्वविद्यालयबाट तीनजना विशेषज्ञको टोली प्रतिष्ठान आएका छन् । उनीहरूकै पहलमा ल्याव स्थापनासँगै जनशक्ति सञ्चालनसम्बन्धी तालिम पनि दिइएको उनले जानकारी दिइन् ।

टोलीमा डा. जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा. स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका छन् । प्रतिष्ठानका अनुसार उक्त ल्यावले सेरेब्रल पाल्सी तथा विभिन्न शल्यक्रियाका कारण साथै हाडजोर्नीसम्बन्धी कतिपय रोगका कारण हिँडाइको चाल नमिल्ने र हिँड्न कठिन हुने भएकाले त्यस्ता रोगका लागि सहयोग बन्ने छ ।

ल्यावभित्र उच्च प्रविधिका आठवटा क्यामेरा पनि जडान गरिएका छन् । बिरामीहरूको उपचार गर्दा बिरामीलाई हिँड्न लगाई उक्त क्यामेराको सहयोगबाट बिरामीको चालको भिडियो तथा ग्राफिक्स लिई उच्च प्रविधिको कम्प्युटरद्वारा विश्लेषण गरी समस्याको पहिचान हुने अस्पताल प्रशासनले जनाएको छ ।

तालिममा हाडजोर्नी विभागका असिस्टेन्ट प्रोफेसरद्वय डा. आशिष पाण्डे र डा. अमित लिम्बू तथा अमन श्रेष्ठ, मुजाहिद हुसेन सहभागी थिए ।