विराटनगर–१२ बखरीका ५२ वर्षीय भरतलाल राजवंशी सवारी दुर्घटनामा परी उनको टाउकोमा चोट लागेको थियो । उनी सिटी सफारी चालक हुन् । घाइते भएका राजवंशीले विराटनगरको निजी हस्पिटलमा गएर उपचार गरे । उपचारमा उनीसँग भएको र ऋण खोजेर आठ लाख रुपैयाँ सके । तर, उनी पूर्णरूपमा ठीक भएनन् । आर्थिक अवस्था नाजुक भएका राजवंशी ऋण खोजेर थप उपचारको लागि निजी हस्पिटल जान सक्ने अवस्थामा थिएनन् । त्यसपछि उनी गत बिहीबार पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा पुगे ।

उनको स्वास्थ्य उपचार हेरेपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । चिकित्सकको सुझावअनुसार शुक्रबार राजवंशीको टाउकोको ‘क्रेनियोप्लाष्टिक’ सर्जरी गरियो । कोशी अस्पतालका न्युरो सर्जन डा. चन्द्रप्रकाश यादवको टिमले राजवंशीको टाउकोको क्रेनियोप्लाष्टिक सर्जरी गरेको हो ।

कोशीमा टाउकोको क्रेनियोप्लाष्टिक सर्जरी पहिलो पटक गरिएको डा. यादवले बताए । ‘न्युरो सर्जरी सेवा सुरु भएको डेढ वर्ष भयो । अहिलेसम्म २० वटाभन्दा बढी शल्यक्रिया गरियो । अहिलेसम्म गरिएका शल्यक्रियामध्ये टाउकोको क्रेनियोप्लाष्टिक सर्जरी पहिलो हो’ डाक्टर यादवले भने,  ‘यो जटिल अप्रेसन हो । ब्रेन धेरै मात्रामा स्वेलिङ भएको थियो । हामीले शल्यक्रियाको माध्यमबाट क्रेनियोप्लाष्टिक गरिएको छ ।’

शल्यक्रिया गरेको एक सातापछि राजवंशी सोमबार डिस्चार्ज भएका छन् । ‘स्वास्थ्यमा सुधार आएपछि हामीले डिस्चार्ज गरेका हौँ’ डा. यादवले भने, ‘अहिले उहाँ ठीक हुनुभएको छ । विगतको जस्तै गरी अब राम्रोसँग हिँडडुल गर्नसक्ने हुनुभएको छ ।’

उपचारपछि श्रीमान्को स्वास्थ्य अवस्था ठीक भएपछि श्रीमती सङ्गीता राजवंशी हर्षित मुद्रामा देखिएकी छन् । ‘अहिले श्रीमान् हाँस्न र बोल्न सक्ने हुनुभएको छ । एक साताको उपचारपछि  डिस्चार्ज भएको छ’ उनले भनिन्, ‘चिकित्सक र अस्पतालले श्रीमान्लाई  बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिनँ । उपचारमा सहयोग पु¥याउनेप्रति आभारी छु ।’ 

यसअघि पनि कोशी अस्पतालमा टाउकोमा गाडिएको हड्डी शल्यक्रिया गरी निकालेको थियो । कोशी अस्पतालमा जटिल प्रकारको शल्यक्रिया पनि हुन सुरु भएको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले बताए । कोशीमा न्युरो सर्जरीका सेवाहरू अहिले सञ्चालनमा रहेको उनले बताए । आर्थिकरूपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए । 

न्युरो सर्जरीमा जनशक्तिको चरम् अभाव 

कोशीमा न्युरो सर्जरी सेवा सुरु भएको एक वर्षभन्दा बढी भइसक्दा पनि जनशक्ति पर्याप्त नभएको चिकित्सकले बताएका छन् । दक्ष जनशक्ति नहुँदा उपचारमा कठिनाइ भएको छ । 

कोशीमा न्युरो सर्जन एक जनाको दरबन्दी छ । उक्त दरबन्दी पदपूर्ति भएको छ । न्युरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘न्युरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरूको आवश्यकता छ । त्यससँगै थप उपकरणहरूको पनि आवश्यकता रहेको छ’ न्युरो सर्जन डा. चन्द्रप्रकाश यादवले भने, ‘तत्काल पोष्टअप र माइक्रोस्कोपिक उपकरण भए न्युरो सर्जरीका ठूला–ठूला शल्यक्रिया गर्न सकिने थियो ।’

थप जनशक्ति र पर्याप्त उपकरणहरू भए ब्रेन ट्युमरको शल्यक्रियादेखि मेरुदण्डसम्मको उपचार गर्न सकिने उनले बताए । न्युरो सर्जरी आईसीयूको पनि आवश्यकता रहेको उनले बताए । ‘यो जरुरी छ । अप्रेसन गर्नुमात्र ठूलो कुरा होइन । त्यसपछि हुनुपर्ने केयर मुख्य विषय हो’ उनले भने, ‘त्यसैले जनशक्तिको आवश्यकता छ ।’

कोशीको ओपीडीमा हप्ताको तीन दिन न्यूरो सर्जरीका सेवा हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडीमा चिकित्सक डा. यादव बस्ने गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबार र मङ्गलबार हुने गरेको अस्पतालले जनाएको छ । 

कोशी अस्पतालका मेसु झाले २० वर्षअगाडिको दरबन्दीअनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला बिरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडीमा ५ देखि ६ सय बिरामी हुने गरेका थिए । अहिले दैनिक ओपीडीमा १५ सयदेखि २ हजारसम्म बिरामी आउने गरेका छन्’ उनले भने, ‘पुरानो दरबन्दीअनुसारका स्वास्थ्यकर्मीहरूले काम गरिरहेका छन् । अहिले ओएनम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहल गरिरहेका छौँ ।’