कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गणतन्त्रमाथि धावा बोल्ने काम भइरहेको बताएका छन् ।

‘सङ्घीयताको बारेमा चुनौती दिने काम भइरहेको छ, सरकारमा रहेका गठबन्धन दलहरू आज मौन छन् ।’ एमाले धरानद्वारा आयोजित भूकम्पपीडितको राहतका लागि रकम हस्तान्तरण तथा एमालेको सङ्कल्प अभियानबारे जानकारी दिन मङ्गलबार आयोजित कार्यक्रममा पूर्वमुख्यमन्त्री राईले भने, ‘गणतन्त्रको हिमायती भन्ने, आफूलाई क्रान्तिकारी भन्ने, आफूलाई लोकतन्त्रको मसिहा ठान्ने, त्यस्तो दाबी गर्ने नेपाली काङ्ग्रेस माओवादीलगायतका पार्टीहरू चुपचाप छन् । कानमा तेल हालेर बसेका छन् । मुखमा बुजो हालेर बसेका छन् ।’

राईले अनेक रूप, अनेक भेष र अनेक बहानामा प्राप्त उपलब्धिलाई ध्वस्त पार्नका निम्ति लोकतन्त्र र गणतन्त्रमाथि केही शक्तिहरूले धावा बोलिरहेको आरोप लगाए । ‘यस्तो अवस्थामा देशको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि गणतन्त्र, सङ्घीयताको रक्षाका निम्ति आज नेकपा (एमाले) ठिङ्ग उभिएर बोल्नुपर्ने, देशलाई कुशासन, भ्रष्टाचारको दलदलबाट निकाल्नका लागि आज नेकपा (एमाले)ले सम्पूर्ण नेपाली जनतालाई आह्वान गर्नुपर्ने अवस्था छ’ –पूर्व मुख्यमन्त्री राईले भने ।

नेकपा (एमाले) सत्ताबाहिर रहेका बेला सत्तारुढ दल र सत्ताबाहिरै रहेका अन्य दल पनि नेकपा (एमाले)माथि खनिइरहेको बताए । ‘यस कुराबाट हामीले बुझ्नु पर्छ कि देशलाई कुनै पनि बहानामा अप्ठ्यारो अवस्थामा धकेल्ने काम भइरहेको छ’ राईले भने, ‘जातीय द्वन्द्वको नाममा धार्मिक विद्वेषको नाममा विभिन्न अनेकौँ बहानामा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने, नेपाललाई असाध्यै कमजोर देशकारूपमा परिणत गराउने मनसायतर्फ सबै शक्तिहरू लागिरहेका छन् ।’

नेकपा (एमाले) राष्टिूयता, स्वाधीनता र स्वाभिमानको पक्षमा उभिँदै आएको नेता राईले बताए । लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको पक्षमा लडेको, राजनीतिक स्थायित्वका निम्ति अग्रसर रहेको एउटा बलियो राष्ट्रवादी पार्टीका रूपमा एमाले रहेको उनको भनाइ थियो ।

‘नेकपा (एमाले) बलियो भयो भने, नेपाल बलियो हुन्छ, नेपाल बलियो भयो भने जनता सचेत, सुखी र सम्पन्न भए भने गलत स्वार्थहरूको पूर्ति हुन सक्दैन, गलत मनसाय राख्ने, त्यस्ता चाहना बोक्नेहरूले आफ्ना स्वार्थ पूरा गर्न सक्दैनन्’ नेता राईले भने, ‘त्यसकारण आज सबैखाले नेपाल विरोधी, जनविरोधी शक्तिहरू एक स्वरले, एकमतले नेकपा (एमाले)लाई घेराबन्दी गर्ने, नेकपा (एमाले)लाई कमजोर बनाउने, मनपरितन्त्र कायम गर्ने र सोही खालका स्वार्थहरूलाई मुलुकमा प्रवेश गराउने र मुलुकलाई क्षतविक्षत बनाउने खालका प्रयासमा छन् ।’

नेता राईले यी समग्र कुरालाई ध्यानमा राखेर एमालेले सङ्कल्प यात्राको माध्यमबाट सम्पूर्ण जनतालाई जागरुक गराउने, जागरण पैदा गराउने, नागरिकलाई यात्रामा उतार्ने मुलुकलाई सही दिशामा लिएर आउने हिसाबले अभियान सुरु गरेको बताए ।

कोशी प्रदेशमा आगामी मङ्सिर २६ गते उदयपुरको घुर्मीमा बृहत् जनसभा गर्ने, २८ गते तेह्रथुमको वसन्तपुरमा जनसभा गर्ने र अर्को ठूलो सभा पाँचथरको फिदिममा हुने बताइएको छ । अभियानअन्तर्गतकै साना–ठूला भेटघाट, छलफल, अन्तरक्रिया र हजारौंको सङ्ख्यामा जनतासँगको भेटघाट सकेसम्म गरिनेछ ।  

अभियानको आगामी पुस १ गते औपचारिक रूपमा राष्ट्रिय झण्डा फहराएर, एउटा स्तम्भ अनावरण गरेर समापन गरिने छ । ‘नेकपा (एमाले)लाई एउटा राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने, जनसमर्थन जुटाउने काम हुनेछ’– पूर्वमुख्यमन्त्री राईले भने ।