मोरङको बेलबारी नगरपालिका वडा नम्बर –१० स्थित भाउन्नेको जङ्गलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको  मृत्यु भएको छ । 

जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिएका छन्। उनले  लेटाङ नगरपालिका वडा नम्बर –३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर यात्रा गरिरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको उल्लेख गरेका छन् । 

माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जङ्गली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ। बाटो हिँड्नेले जङ्गलमा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शव परीक्षणका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए ।

लेटाङ तथा भाउन्ने  आसपासमा रातभर दुई दर्जनभन्दा बढी छावा (बच्चा) सहितको जङ्गली हात्ती देखापरेकाले स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जङ्गलतर्फ धपाउने काम गरेको स्थानीयले बताएका छन्।

कोशी प्रदेशका झापा,मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जङ्गली हात्तीको आङ्तक बढेको छ। लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो  मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन्। सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा जङ्गली हात्तीले मच्चाइरहेको  सुनसरीमा  एक साताभित्रमा चार जनाको मृत्यु   भएको मोरङ प्रहरीका प्रवक्ता  दाहालले उल्लेख गरेका छन् ।

हात्तीको आहारा जङ्गलमा सकिएपछि मानव बस्तीतर्फ हात्तीले निशाना बनाउँदै आएको जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख  विष्णुलाल घिमिरेले जानकारी दिएका छन्। उनले हात्तीले धनजनको क्षति पुर्‍याएपछि सुरक्षाको व्यवस्थापन गर्न सरकार समक्ष  स्थानीयले माग गरेको उल्लेख गरेका छन् ।