धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्य समितिले प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको छ ।

एसोसिएसनको टोलिले आईतबार दिउँसो प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीलाई तीन बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरु टेन्डर मार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनु पर्ने माग गरिएको छ । 

त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार फार्मेसी सञ्चालन गरिनु पर्ने र अस्पतालमा अति आवश्यक औषधी र प्रविधि जन्य स्वास्थ्य सामग्री उपलब्धता नहुने भएकाले विरामीले दुख कष्ट भोगिरहेका हुँदा यस्ता औषधी र स्वास्थ्य सामग्री सिघ्र उपलब्ध गराउन माग गरिएको छ । (रासस)