सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले टिकटक माथि लगाएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुर्याएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।