विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सकहरू काममा फर्किएका छन् । प्रतिष्ठानका पदाधिकारीसँग बढुवाको प्रक्रिया पुरानै नियमावलीअनुसार अघि बढाउने सहमति भएसँगै एक महिनादेखि सम्पूर्ण सेवा वहिष्कार गरेका चिकित्सक तथा कर्मचारी काममा फर्किएका हुन् ।

सोमबार प्रतिष्ठानका पदाधिकारी, आन्दोलनरत चिकित्सक/कर्मचारी, नागरिक समाजका अगुवा र राजनीतिक दलसहितको छलफलपश्चात् पुरानै नियमावलीअनुसार बढुवाको प्रक्रिया अघि बढाउने सहमति भएको हो । प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जू प्रधानले पुरानै नियमावलीअनुसार बढुवा गर्ने सहमति भएको पुष्टि गरिन् । उनले भनिन्, ‘पुरानै नियमावलीअनुसार बढुवाको प्रक्रिया अघि बढाउने सहमति भएको छ । सहमति पत्रमा लोकसेवाको प्रतिनिधि राख्ने वा अन्य नयाँ नियमावलीअनुसार बढुवा गर्ने सहमति भएको छैन ।’

प्रतिष्ठानका पदाधिकारीसँग चिकित्सक र कर्मचारीले छुट्टाछुट्टै वार्ता गरेका थिए । पदाधिकारीले चिकित्सकसँग तीन बुँदे र कर्मचारीसँग चार बुँदे सहमति गरेका छन् । चिकित्सकहरूको सहमतिमा २०७२ पुस २० गते र २०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापनबमोजिम आवश्यक प्रक्रिया पु¥याई अन्तरवार्ता हुन बाँकी रहेका शिक्षक पदको अन्तरवार्ता आगामी २०८० पुस २ गतेदेखि सुरु गरी पुस १५ गतेसम्ममा सम्पन्न गर्ने, अन्तरवार्ता सम्पन्न गरी एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बसी नतिजा प्रकाशन गर्ने सहमति भएको छ । कर्मचारीको चार बुँदे सहमतिपत्रमा नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयानुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको च.नं. १ का ८४ मिति २०८०÷०७÷१७ गतेको प्राप्त पत्रसहितको कर्मचारीको प्रस्तावित नियमावली, २०७९ को मस्यौदालाई प्रतिष्ठानका कर्मचारी कल्याण समाजलाई ७ (सात) दिन समयसीमा दिई सुझाव सङ्कलन गर्ने सहमति भएको छ ।

सङ्कलित सुझावसहितको मस्यौदा प्रतिष्ठान कार्यकारिणी समितिको सिफारिससहित सञ्चालक परिषद्मा स्वीकृतिका लागि पेश गर्ने तथा कर्मचारीहरूको आन्तरिक स्थायी बढुवाका लागि २०७९ पुस २० गते प्रतिष्ठानले प्रकाशित गरेको विज्ञापनमा समावेश रहेकामध्ये अन्तरवार्ता हुन बाँकी रहेका सबै स्थायी तथा परफर्मेन्स करार सेवाका पदहरूका कर्मचारीहरूको अन्तरवार्ता २०८० पुस १ गतेदेखि सुरु गरी २०८० पुस मसान्तसम्ममा सम्पन्न गर्ने सहमति भएको छ । यस्तै अन्तरवार्ता सम्पन्नपश्चात् एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बस्न पहल गरी तत्पश्चात् नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।

करार सेवाका कर्मचारीहरूको अन्तरवार्ता २०८० मङ्सिर १ देखि सुरु गरी मङ्सिर महिनाभित्रै सम्पन्न गर्ने सहमति भएको छ । चिकित्सक र कर्मचारी दुवैले आन्दोलनका कारण प्रतिष्ठान व्यवस्थापनले कर्मचारी कल्याण समाज, समाजको सदस्य र कुनै चिकित्सक तथा कर्मचारीप्रति पूर्वाग्रह नराख्ने सहमति गरेको छ । आन्दोलनरत सम्पूर्ण पक्षहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरी आ–आफ्नो काममा फर्किने सहमति भएको हो ।

सहमतिपत्रमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्की, रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य प्रा.डा. स्मृति कार्कीले हस्ताक्षर गरेका छन् । शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज अहमद खानसहित  १२ शिक्षक चिकित्सकले हस्ताक्षर गरेका छन् । प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका धरान नगर प्रमुख हर्कराज राईले आमन्त्रित सदस्यका रूपमा उपस्थित भएका थिए । कर्मचारी कल्याण समाजको तर्फबाट अध्यक्ष  कविता ढकाल, पदाधिकारीसहित राजनीतिक दलका धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाली काङ्ग्रेसका सभापति श्याम पोखरेल, एमाले धरान अध्यक्ष हर्कजङ एभेङ, धरान–१७ का वडाध्यक्ष तथा माओवादी केन्द्रका धरान अध्यक्ष सूर्यबहादुर भट्टराई र जसपा अध्यक्ष ताजुब लिम्बू, नेकपा (एस) का धरान अध्यक्ष रेवतीरमण राईले हस्ताक्षर गरेका छन् ।

सहमतिका लागि आइतबार रातभर बसेको बैठक विना निष्कर्ष टुङ्गिएको थियो । सोमबार शिक्षक चिकित्सक तथा कर्मचारीसँगको वार्तामा सहमति भएको हो । लामो समयदेखि पदोन्नतिको माग राखेर सङ्घर्षरत चिकित्सकहरूले असोज २२ गतेदेखि शैक्षिक तथा परीक्षाका कार्यक्रमहरू पूर्णरूपमा वहिष्कार गरेका थिए । असोज २६ गते प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई १ सय ७७ जना चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका थिए । प्रतिष्ठानका चिकित्सकको ७ वर्षदेखि र कर्मचारीको १५ वर्षदेखि वृत्ति विकास रोकेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत पक्षबीच वार्ताको वातावरण बनाउन पछिल्लो समय धरानका नागरिक समाजका अगुवा आनन्द आचार्य, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजयकुमार श्रेष्ठ, धरान उपमहानगर पूर्वप्रमुख कुमारबहादुर कार्की, पत्रकार किशोरकुमार कार्की, हर्ष सुब्बा, निवर्तमान नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, समाजसेवी सरला कायस्थ, व्यवसायी सरोज श्रेष्ठ, कृष्णकुमार अग्रवाललगायतले पहल गरेका थिए । आन्दोलित चिकित्सक तथा कर्मचारी र प्रतिष्ठानका पदाधिकारीसँग दुई पक्षीय वार्ताको वातावरण बनाएपछि सहमति भएको नागरिक समाजका अगुवा आनन्द आचार्यले जानकारी दिए ।

जस लिने होडबाजी

तीन हप्तादेखि प्रतिष्ठानको सेवा वहिष्कार गरी आन्दोलनरत् चिकित्सक र पदाधिकारीबीच वार्ताको वातावरण बनाउन पहलकदमी गरेको जस लिन होडबाजी चलेको छ ।

धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले आफ्नो पहलमा वार्ता सफल भएको सामाजिक सञ्जालमा दाबी गरेका छन् भने पाँच राजनीतिक दलले विज्ञप्ति जारी गरेर वार्ता गराउन पहल गरेको उल्लेख गरेका छन् ।

विगतदेखि नै विवादको समाधान गरी प्रतिष्ठानको स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन राजनीतिक दलले पहल गरेका थिए । उनीहरूले विज्ञप्ति जारी गरी प्रतिष्ठानको स्वास्थ्य सेवा सुचारु गर्न माग गरेका थिए । वार्तामार्फत् सेवा सुचारु गर्न माग गरेका राजनीतिक दलहरूले सङ्घर्षरत् पक्षसँग छलफल गरेर समस्याको पहिचान पनि गरेका थिए । यसअघि वार्ताका लागि पलहकदमी गरेका राजनीतिक दलका प्रतिनिधि नेपाली काङ्ग्रेस नगर सभापति श्याम पोखरेल, एमाले नगर अध्यक्ष हर्कजङ एभेङ, माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बूसहित जनप्रतिनिधि मङ्गलबार विना अनुमति वार्तास्थलमा प्रवेश गरेर वार्ता गरिरहेका कर्मचारी कल्याण समाजका पदाधिकारीहरूलाई बाहिर निकालेको वार्ताका कर्मचारीहरूले नागरिक समाजका अगुवालाई सुनाएका थिए ।

पदाधिकारीसँग छलफलपश्चात् राजनीतिक दलको प्रतिनिधित्व गराएपछि पुनः वार्ता गरी कर्मचारीको सहमति भएको हो । सिनेट सदस्यसमेत रहेका धरान नगर प्रमुख हर्कराज राईले पछिल्लो समयमात्र पहल गर्न सुरु गरेका थिए । लामो समय चासो नराखेका नगरप्रमुख राईले वार्तामा आमन्त्रित सदस्यको रूपमा रहेर आफ्नै पहलमा वार्ता सफल भएको दाबी गरे । उनले आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभोलुसन’ मा १८ घण्टा लामो छलफलपश्चात्  बीपी प्रतिष्ठानको आन्दोलनको निकास निकाल्यौँ । मध्यस्थकर्ताको भूमिकामा रहेको थिएँ । जय होस् सबैको’ लेखेका छन् ।

उनले थप ‘अबका दिनहरूमा हाम्रो अस्पताल सुचारु रूपले चल्ने आशा छ, धरान नगरप्रमुख ‘हर्क साम्पाङ अ रेभोलुसन’ ले निभाउनुभएको मुख्य भूमिका कदर कर्दै, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको जय होस्’ आफ्नै फेसबुकले पेजमा लेखेका छन् । तर, उनले पहल गर्दा सङ्घर्षरत् चिकित्सकहरू नै वार्तामा बसेका थिएनन् । राजनीतिक दलका प्रतिनिधि वार्ता भइरहेको बैठकमा विना अनुमति प्रवेश गरी आफ्नो प्रतिनिधित्व गराउनु र नगरप्रमुख राईले फेसबुकमा दिएको अभिव्यक्तिले कामको जस लिन होडबाजी गरेको पुष्टि गर्दछ ।