धरान । सङ्खुवासभा घर भई हाल धरान बस्दै आएका आशिष बोहरा गत शनिबार इटहरी जाने क्रममा धरान–इटहरी सडक खण्डको पानीपिया जङ्गलमा दुर्घटनामा परे । ठेकेदार कम्पनीले सडक निर्माण नगरेका कारण उनको मोटरसाईकल दुर्घटनामा खुट्टा भाँच्चियो ।

उपचारका लागि तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । डाक्टरले आन्दोलनको कारण देखाउँदै उपचारका लागि एक हप्ता पर्खिनु पर्ने बताएपछि हाल उनको विराटनगरको कोशी अस्पतालमा उपचार भइरहेको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईका जनसम्पर्क सल्लाहकार ओशिम आलमले जानकारी दिए । उनले भने, ‘सडकको अवस्था खराब भएका कारण धेरै दुर्घटना भइरहेका छन् ।’ यो घटना त एउटा उदाहरण हो, यस्ता दुर्घटना धरान–इटहरी सडक खण्डमा दैनिक जसो हुने गरेका छन् ।

ठेकेदार हिमढुङ्ग प्यासिफिक जेभीको ढिलासुस्तीले तोकिएको समयमा सडक निर्माण सम्पन्न नगर्दा कोशी राजमार्गअन्तर्गतको तरहरा–सेउती पुल सडक खण्डमा दुर्घटना बढिरहेका छन् । करिब सात किलोमिटर सडक निर्माण सुरु गरेको तीन वर्ष बित्दा पनि सडक बनेको छैन । जसले गर्दा यात्रा गर्नेहरू कष्टकर यात्रा गर्न बाध्य छन् । तीन वर्षयताको तथ्याङ्क हेर्दा यो सडकखण्डमा दुर्घटनामा परेर १० जनाको ज्यान गइसकेको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

चालू आर्थिक वर्षको हालसम्म सात वटा दुर्घटना भएको मध्ये एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएको सुनसरी जिल्ला ट्राफिक प्रहरी धरानले जनाएको छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार २०७८ को साउनयता ५७ वटा दुर्घटना भएकोमा नौ जनाको ज्यान गएको थियो । सो वर्ष गम्भीर र सामान्य घाइते हुनेको सङ्ख्या ९३ जना थियो । सडक निर्माण समयमा सम्पन्न नहुँदा बर्खामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने गरेको छ ।

इटहरी उपमहानगरपालिका–२० तरहरादेखि सेउती पुलसम्मको करिब सात किलोमिटर सडक तीन वर्षभित्रै सकिनु पर्ने गरी ठेकेदारले सम्झौता गरेको थियो । २०७७ सालको असार मसान्तदेखि २०८० को असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भए पनि ठेकेदारको ढिलासुस्तीका कारणले सडक निर्माण सम्पन्न हुन सकेको थिएन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिका संयोजक सरोज श्रेष्ठ पटक पटक दबाव दिँदा पनि ठेकेदारले अटेर गर्दै आएको बताउँछन् । उनी भन्छन्, ‘किमाथाङ्का–जोगबनी जोड्ने यस्तो महŒवपूर्ण व्यापारिक मार्ग अलपत्र हुँदा प्रदेशको व्यापार व्यवसायमा ठूलो असर पुगिरहेको छ । मान्छेको ज्यान जाने र घाइते हुने क्रम पनि बढेको छ । सबैले ठेकेदारलाई जिम्मेवार बनाउनु आवश्यक छ ।’

सडक निर्माण कार्य अलपत्र हुँदा दुर्घटना बढेको र धेरैको ज्यान समेत गएको भन्दै पटक पटक आवाज उठे पनि ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको छ । सडक निर्माण चाँडो सक्न यातायात व्यवसायीहरूले गत असोज ९ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापनपत्र बुझाएको थियो ।