विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत बिरामीलाई फरक समूहको रगत चढाएपछि बिरामी झन् सिकिस्त बनेका छन् ।

प्रतिष्ठानका चिकित्सकको लापरबाहीका कारण बिरामी सिकिस्त बनेको आफन्तले बताए । धनकुटा पाख्रीबास नगरपालिका–२ माथिल्लो सान्नेका ४३ वर्षीय महेन्द्र तामाङलाई अर्कै ‘ब्लड ग्रुप’ को रगत चढाएपछि सिकिस्त बनेका हुन् । सामान्य ज्वरो आएपछि प्रतिष्ठानको आकस्मिक कक्ष (इमरजेन्सी) मा भर्ना भएका उनलाई बी पोजेटिभ रगत चढाउनुपर्नेमा ए पोजेटिभ रगत लगाएका कारण सिकिस्त भएको बिरामीका दाजु किरण तामाङले बताए ।

आकस्मिक कक्षका चिकित्सकले बिरामीलाई तत्काल ‘ए’ पोजेटिभ रगत जरुरत परेपछि भनेपछि सोहीअनुसार व्यवस्थापन गरेको उनले बताए । प्रतिष्ठान हातामा रहेको रक्त सञ्चार सेवामा पनि रगत नभएपछि आफन्तमार्फत ताजा रगत जुटाएको दाजु किरणले बताए । ‘भाइ सामान्य नै थियो । दुई तीन पाउन्ड रगत चढाएपछि बोल्दै गरेकोभाइ एक्कासि बेहोस भयो’ उनले भने, ‘पछि प्रतिष्ठानमै पुनः ब्लड ग्रुप परीक्षण गर्दा ‘बी’ पोजेटिभ रिपोर्ट आयो । विश्वास नलागेर प्रतिष्ठान बाहिरका क्लिनिकमा गई ब्लड ग्रुपिङ गर्दा ‘बी’ पोजेटिभ नै आयो ।’

चिकित्सकको लापारबाहीले भाइको स्वास्थ्यमा गम्भीर समस्या भएको बताउँदै भने, ‘असोज २२ गतेदेखि २४ दिनसम्म आइसियूमा म¥यो कि बाँच्यो जस्तो तरिकाले राख्यौँ । अहिले पनि राम्रोसँग होस आएको छैन ।’ अस्पतालका उपनिर्देशक डा. इन्द्रकुमार लिम्बूले बिरामीलाई ‘प्लेटलेट्स’ लगाएकोले रक्त समूहले फरक नपर्ने दाबी गरे । उनले भने, ‘ज्वरोका बिरामी होइनन्, मेनिन्जाइटिसका बिरामी हुन् ।’

चिकित्सकको लापरबाहीका कारण बिरामी गम्भीर बनेको भन्दै आफन्तले उपचार खर्च बेहोर्नु पर्नेलगायतका माग राखेपछि प्रतिष्ठानले मङ्गलबार सम्झौता गरेको छ । सहमति पछि बिरामी तामाङलाई मङ्गलबार नै आइसियूबाट वार्डमा सारिएको छ । प्रतिष्ठानका उपनिर्देशक डा. लिम्बू, बिरामीका आफन्तसहित राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङको उपस्थितिमा सम्झौता भएको बिरामीका दाजु किरणले ब्लाष्टलाई बताए । उनका अनुसार बिरामीलाई प्रतिष्ठानमा लाग्ने खर्च छुट गरिदिने, बिरामीलाई समस्या भई पुनः आइसियूमा राख्ने अवस्था आएमा प्रतिष्ठानले व्यवस्थापन गर्ने र बिरामीको मृत्यु भएमा उनकी श्रीमतीलाई प्रतिष्ठानमा रोजगारीको व्यवस्थापन गर्ने सम्झौता भएको छ । तर, यी सबै सम्झौता मौखिक गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले सहमति लिखित जत्तिकै भएको दाबी गरिन् । यता प्रतिष्ठानका उपनिर्देशक डा. लिम्बूले भने चिकित्सकको लापरबाहीले बिरामीमा समस्या नआएको र त्यसका कारणले भन्दा पनि बिरामीको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च छुट गरिदिने सहमति भएको दाबी गरे । उनले भने, ‘विपन्न भएकाले निःशुल्क गरिदिने म्युचल अन्डरस्ट्यान्डिङ भएको हो ।’