भोजपुर/व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् ।

एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नम्बर –५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् ।

टेम्केमैयुङ नम्बर–४ नागीमा व्यावसायिकरूपमा नै खेती विस्तार भइरहेको स्थानीय कृषक नवीन राईले बताएका छन्। आफूले एक सय ५० भन्दा बढी बिरुवा लगाएर व्यावसायिकरूपमा खेती गरिरहेको उनको भनाइ छ । मकै फल्ने बारी मासेर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेको राईले बताएका छन् ।

“किवीखेती किसानको रोजाइको बाली बनेको छ”, उनले भने ,“अन्य बाली हटाएर किवीखेती विस्तार भइरहेको छ । मकै, आलुखेतीभन्दा किवीबाट राम्रो आम्दानी लिने गरेको छु ।” सुरुमा इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिएका छन्। किवी लगाएको ठाउँमा पाखे अलैँची र खोर्सानीसमेत पनि खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताएका छन् । किवीखेतीबाट वार्षिक ६ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताउछन् ।

टेम्केमैयुङ गाउँपालिका नम्बर –५ मझौलेका स्थानीय किसान एकराज विष्टले किवीको व्यावसायिक खेती गरिरहेको बताएका छन् । विष्टले करिब १० रोपनी क्षेत्रमा तीन वर्षअघिबाट किवीखेतीको विस्तार गरेको उनले बताएका छन् । 

“वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक किवीखेती गरिरहेको छु”, विष्टले भने “राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको। फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्य बालीको तुलनामा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।”

टेम्केमैयुङ गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत कृषिको खेती विस्तारमा सहयोग गरिरहेको जनाएको छ । किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लाग्न प्रोत्साहन गर्दै गाउँपालिकालाई कृषिमा नमूना बनाउने उद्देश्यका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताएकी छन् ।