धरान । कवि इन्दु नेपाल योञ्जनको हालै प्रकाशित कविता कृति ‘अन्तिम सेलो’ मा एउटा जातिको संस्कृति, चिन्तन, मनोविज्ञानको प्रतिनिधित्व रहेको परिचर्चाका क्रममा वरिष्ठ कवि बम देवानले बताएका छन् ।

कलरव धरानले शनिबार धरानमा आयोजना गरेको कृति वार्तालापमा कवि देवानले भने, ‘सेलोले एउटा जातिको संस्कृति, मनोविज्ञानको प्रतिनिधित्व गरेको छ । कविता दार्शनिक टाइपका छन् ।’ परिचर्चाकारमध्येका कवि देवानले सिङ्गो कविताको सार पनि अन्तिम सेलो रहेको बताए । उनले थेवा शीर्षकको कवितामा एउटा प्रेमिकाले प्रेमीलाई भेट्ने र जीवन बसाउने सुन्दर सपना साँचेको तर चट्याङले उनको सपनालाई तुहाइदिएको कल्पना कविले सुन्दर ढङ्गले प्रस्तुत गरेको बताए ।

‘थेवालाई पाउनका लागि डोल्माले कल्पना गरेकी छन्, सपना साँचेकी छन् । तर चट्याङ झर्छ र थेवाको गोठमै पर्छ र ऊ मर्छ’ उनले भने, ‘यो कथा थेवा र डोल्माको मात्रै होइन । समग्र ग्रामीणभेगमा बस्ने मानिसहरूको हो ।’

अर्का परिचर्चाकार डा. अस्मिता विष्टले भनिन्, ‘कवितामा अलङकार, रूपक, बिम्ब, प्रतीकहरूले मात्रै राम्रो हुन्छ भन्ने छैन । कवि योञ्जनका केही कवितामा यस्ता कुरा नभए पनि सुन्दर छन् । उनले मलामी शीर्षकको कविताले वर्तमान जनजीवनलाई उतारेको र अत्यन्तै सुन्दर कविता रहेको बताइन् । उनले कविता राम्रो र नराम्रो बीचको ‘ग्रे जोन’ भएको बताइन् ।

कविमा भएको कल्पनशीलता, सोच, ध्यान आदिबाट कविता निर्मित हुने भएकाले उनका कवितामा पनि केही कमीकमजोरी र पूरा नभएका जस्ता लाग्ने बताइन् । कृति वार्तालापमा सहजीकरण गरेका अर्का कवि चन्द्र गुरुङले कवितामा हुनुपर्ने गुण के हो भन्ने विषयको जिज्ञासामा कवि योञ्जनले भने, ‘कवितामा हाल्न लागेको विषय के हो, त्यसबाट आउटपुट आउनुपर्छ जस्तो लाग्छ । कविता जीवन्त हुनुपर्छ । सकारात्मक स्वर दिनुपर्छ जस्तो लाग्छ ।’ उनले तामाङ संस्कृतिलाई कलाको रूपमा विस्तारै ल्याउने बताए । उनले आफ्ना कविता कृतिमध्ये ४–५ वटा कवितामा मात्रै तामाङ संस्कृति अटाएको बताए । आगामी दिनमा त्यसलाई सुधार्ने बताए ।