बढुवा र वृत्तिविकास हुन नसक्दा पछिल्लो दुई वर्षमा ५० जना भन्दा बढी योग्य चिकित्सक तथा शिक्षकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाडेका छन् । वृत्तिविकासका लागि आन्दोलनरत चिकित्सकले आगामी २६ असोजसम्ममा आन्तरिक बढुवाको प्रक्रिया सुरु नभए संयुक्त प्रतिष्ठान परित्याग गर्ने अग्रिम घोषणा गरेका छन् । 

स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले सर्वसम्मत निर्णय गर्दै प्रतिष्ठान परित्याग गर्ने घोषणा गरेको हो । समाजका अनुसार शिक्षकको हकमा ६ वर्ष र कर्मचारीको हकमा झन्डै १५ वर्षदेखि आन्तरिक बढुवा रोकिएको छ । वृत्तिविकास रोकिएपछि चिकित्सक र कर्मचारीले प्रतिष्ठान छाडिरहेको समाजका अध्यक्ष डा. सेराज अहमद खानले बताए । ‘वृत्तिविकास नभए सामूहिक राजीनामा गरी प्रतिष्ठान छाड्ने शिक्षक कल्याण समाजले निर्णय गरिसकेको छ ।’ डा. खानले भने । 

प्रतिष्ठानमा चिकित्सक निरन्तर आन्दोलनमा छन् । तर प्रतिष्ठान व्यवस्थापनले कुनै सुनवाइ गर्न सकेको छैन । वार्ता गर्ने, सहमति गर्ने र बारम्बार शिक्षक–चिकित्सक र कर्मचारीलाई झुक्याउने गरेपछि प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

असोज २१ गतेदेखि २६ गतेसम्म आन्दोलन गर्ने, आन्दोलनपश्चात् पनि समस्याको समाधान नभए प्रतिष्ठानबाट सबै शिक्षकले राजीनामा दिने अग्रिम घोषणा गरिएको छ । 

यसअघि २४ भदौ मा एक महिनाभित्र निकास दिने भन्ने सहमति भएको थियो । २५ दिन बितिसक्दासमेत सहमति पालना गर्ने छाँटकाँट नदेखिएको समाजका अध्यक्ष डा. खानले बताए ।

समाजले वृत्ति विकास रोकिएका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै इलाका प्रशासन कार्यालयमार्फत् स्वास्थ्यमन्त्रीलाई बिहीबार ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै शिक्षकको हकमा ६ वर्ष र कर्मचारीको हकमा झन्डै १५ वर्षदेखि आन्तरिक बढुवा रोकिएको र २ वर्षमा ५० योग्य चिकित्सकले प्रतिष्ठान छाडेको विषय ध्यानाकर्षण गराइएको छ । साथै, ४ बुँदे आन्दोलनको  कार्यक्रमसमेत घोषणा गरिएको छ । 

आन्दोलनका कार्यक्रममा २१ असोजमा उपकुलपतिको कार्यालय घेराउ गर्ने, २१ असोजमा पनि रोकिएको अन्तर्वार्ता सुरु नगरे २२ गते सम्पूर्ण फ्याकल्टी सहकुलपति तथा स्वास्थ्य मन्त्री साथै कुलपति रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन काठमाडौं जाने, २३ असोजदेखि २५ सम्म स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीको कार्यालयमा धर्ना दिने र २६ असोजसम्ममा आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता सुरु नगरे ध्यानाकर्षण पत्रलाई नै राजीनामापत्र मानी स्वीकृत गर्न र जिम्मेवारीबाट मूक्त गर्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ । 

इलाका प्रशासन कार्यालय धरानमार्फत् सहकुलपति र कुलपतिलाई पठाइएको पत्रमा शिक्षक कल्याण समाजको अथक प्रयास र निरन्तरको दबाबपश्चात् गत जनवरीमा शिक्षक तथा कर्मचारीहरूको आन्तरिक बढुवाको लागि सूचना निकाली क्रमिक रूपमा प्रक्रिया अघि बढ्दै करिब ५० प्रतिशतको अन्तर्वार्तासमेत सकिसकेको उल्लेख छ । 

कायममुकायम उपकुलपतिको रूपमा प्रा.डा. प्रह्लाद कार्कीले जिम्मेवारी सम्हालेपछि बिना कुनै सूचना गैरजिम्मेवारीपूर्ण रुपमा बढुवाको प्रक्रिया रोकिएको बताइएको छ । 

‘फ्याकल्टीहरूको प्रमोशन प्रतिष्ठानकै प्रमोशन हो भन्ने तथ्यलाई बुझेर पनि प्रतिकूलतामा लैजाने र एक आपसमै लडाइँ गर्ने पदाधिकारीहरु नै यसको मुख्य बाधक रहेको’ समाजको ठहर छ । 

ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘देशकै पहिलो नन–प्राक्टिसिङ र मोफसलमा रहेको प्रतिष्ठानमा शिक्षकको मुख्य आकर्षण भनेकै समय–समयमै हुने बढुवा तथा वार्षिक रूपमा उपलब्ध हुने कन्फरेन्स ग्रान्ट, रिसर्च ग्रान्ट, फ्याकल्टीका छोराछोरीका निम्ति स्नातकका कार्यक्रममा सिट आदि थिए । जसले पैसा भन्दा प्राज्ञिक, चिकित्सकीय तथा अनुसन्धानात्मक उन्नयनलाई प्राथमिकतामा राख्ने शिक्षकका निम्ति प्रतिष्ठान आकर्षणको केन्द्र थियो । एकसे एक अब्बल शिक्षक तथा चिकित्सकका कारण यो प्रतिष्ठानको शिक्षा र सेवा उत्कृष्ट रहिआएको थियो । तर पछिल्लो समय पदाधिकारीको नियुक्तिमा हुने गरेका गलत चलखेल तथा पदाधिकारी बीचमै हुने गरेको बेमेल र खिचातानीका कारण प्रतिष्ठान क्रमिक रूपमा थला पर्दै गएको स्थिति छ ।’

यस्तै दिइएको अल्टिमेटमसम्ममा माग सुनुवाइ नभए प्रतिष्ठानका कार्यरत शिक्षकले २२ असोजदेखि सम्पूर्ण शैक्षिक, परीक्षाका कार्यक्रम, अतिरिक्त सेवा (इएचएस, पेइङ) अतिरिक्त जिम्मेवारी पूर्ण रुपमा वहिष्कार गर्ने आन्दोलनका कार्यक्रम यथावत रहेको उल्लेख गरेको छ । 

विज्ञप्ति जारी गर्दै शिक्षक कल्याण समाजले ‘पदाधिकारीको यस्तै रवैया रहे आउँदा दिनमा इमर्जेन्सी, आइसियू, ओपिडी, अप्रेशनलगायतका सेवासमेत वहिष्कार गर्न बाध्य हुने चेतावनी दिएको छ । यसबाट पर्ने असुविधा पदाधिकारी स्वयम्ले जिम्मा लिनुपर्ने समाजले उल्लेख गरेको छ ।   


BPKIHS Doctors Seraj Khan (1)

BPKIHS Doctors Seraj Khan (2)